झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्यो
Author
NEPSE TRADING

झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएसँगै कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गर्न लागेको हो।
जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
शिवसताक्षी नगरपालिका वडा नं. ४ मा आयोजना रहेकोले १ लाख ९० हजार ९५ कित्ता त्यही क्षेत्रको १०० मिटर वरपर बस्ने बासिन्दाले आवेदन दिन सक्नेछन् भने बाँकी १ लाख ९० हजार ९५ कित्ता अन्य प्रभावित क्षेत्रका आवेदकका लागि हुनेछ। आवेदन फारम हिमालयन बैंकका दूधे, दमक, सुरुंगा शाखा तथा माछापुच्छ्रे बैंकको सुरुंगा र दमक शाखाबाट प्राप्त र बुझाउन सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म खुला हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्रै आवेदन दिन सक्नेछन्, ढिलोमा साउन २८ गतेसम्म समय हुनेछ।
यो आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।