कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
Author
NEPSE TRADING

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ८ गते) अन्तिम दिन रहेको छ। दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका छन्।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांशसहितका प्रस्ताव पारित गर्न बैंकले असोज २४ गते, शुक्रबार बिहान ११ बजे लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभाले लाभांश पारित गर्ने बाहेक, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापकतर्फबाट ३ जना र सर्वसाधारणतर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
यूनिभर्सल पावर कम्पनी
यूनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले असोज २३ गते, बिहीबार बिहान १० बजे दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ।
सभाले लाभांश पारित गर्ने मात्र नभई बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
लगानीकर्ताले लाभांश सुरक्षित गर्न आज (असोज ८) भित्र शेयर स्वामित्व कायम गर्नुपर्नेछ।



