माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ देखि आईपीओ निष्कासन गर्दै
Author
NEPSE trading

माबिलुङ्ग इनर्जी लिमिटेडले आइतबार असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ।
कम्पनीले कुल जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत बराबरको १८ करोड ९० लाख ५३ हजार रुपैयाँ मूल्यका १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
यस अन्तर्गत पहिलो चरणमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि जारी गरिनेछ। सो आवेदन संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बासिन्दाहरूले दिन सक्नेछन्।
यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिनेछ। आवेदन दिनका लागि विदेशमा रोजगारीमा रहेको नेपाली हुनुपर्नेछ र श्रम स्वीकृति (लेबर अप्रुभल) अनिवार्य रहेको छ।
आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म तोकिएको छ। यदि सो अवधिभित्र सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित स्थानीयहरूले पनि साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको यस सार्वजनिक निष्कासनबाट आयोजनामा स्थानीयको सहभागिता र वैदेशिक आम्दानी नेपालको पूँजी बजारमा भित्र्याउने लक्ष्य लिइएको जनाइएको छ।