बजार सम्हालियो: ट्रेन्डलाइन सपोर्टबाट नेप्से उचालियो, हाइड्रोपावरमै लगानीकर्ताको आकर्षण
Author
NEPSE trading

पछिल्ला चार दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबारको कारोबारमा हरियाली देखाउँदै २३.१९ अंकले वृद्धि भई २,६५३.०९ विन्दुमा पुगेर बन्द भएको छ। प्राविधिक हिसाबले ट्रेन्डलाइन सपोर्टमा टेकेर बजारले फर्किने संकेत दिँदै हरियो क्यान्डल बनाएको देखिएको छ।
यस दिनको वृद्धि जलविद्युत् र अन्य उपसमूहको बलियो प्रदर्शनका कारण भएको हो। १३ उपसमूहमध्ये जलविद्युत उपसमूह २.३५% र अन्य उपसमूह २.६३% ले बढ्दा बजारलाई ठूलो उकास मिल्यो। ८३ वटा जलविद्युत कम्पनीहरू र अन्य उपसमूहमा पर्ने ६ कम्पनीको शेयरमूल्यमा उल्लेखनीय वृद्धि भएको छ। लगानी उपसमूह पनि १% भन्दा बढीले बढेको छ। यद्यपि, होटल तथा पर्यटन, जीवन बीमा, र व्यापार उपसमूहमा सामान्य गिरावट देखिएको छ।
कारोबार रकम भने घटेको देखिन्छ। अघिल्लो दिन आइतबार ९ अर्बभन्दा बढीको कारोबार भएकोमा सोमबारको कारोबार ८ अर्ब ६८ करोड ९३ लाखमा सीमित रह्यो। कुल ३२४ कम्पनीको ७८ हजारभन्दा बढी पटक शेयर किनबेच भयो।
टप गेनरहरू र कारोबार अग्रणी
आजको टप १० गेनरमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी, विन्ध्यबासिनी हाइड्रोपावर, बुटवल पावर र माया खोला हाइड्रोपावर रहेका छन्। यीमध्ये केही कम्पनीहरूले सकारात्मक सर्किट लेभल समेत छोएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंक भने ७.४७% ले घट्दै सबैभन्दा धेरै गिरावटमा परेको हो।
कारोबार रकममा राधी विद्युत कम्पनी अगाडि रह्यो जसले ६१ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्यो। युनिभर्सल पावर र बुटवल पावरले क्रमशः ५४ करोड र ५१ करोड रुपैयाँको कारोबार गरे।
प्राविधिक विश्लेषणले के देखाउँछ?
चार दिनको गिरावटपछि बजारले पाँचौं पटक ट्रेन्डलाइन सपोर्टलाई टेकेको छ। उक्त सपोर्ट लाइन अघिल्लो अक्टोबरदेखि हालसम्मको बुल ट्रेन्डको प्रमुख आधार हो। बजार मिडल ब्यान्ड नजिकै हरियो क्यान्डल बनाएर बन्द हुनु सकारात्मक संकेत हो। च्क्क्ष् (RSI) पनि ५० को हाराहारीमा छ, जुनले बजार ओभरबट वा ओभरसोल्ड अवस्थामा नरहेको देखाउँछ। यसको अर्थ बजार अझै दुवै दिशामा जान सक्ने खुला सम्भावनामा छ।
ब्रोकर गतिविधि र लगानीकर्ता मनोबल
ट्रेडिङको हिसाबले ब्रोकर नं. ५८ अग्रस्थानमा देखियो जसले ७४ करोड १७ लाखको कारोबार गर्यो। तर उसले सेल (३८.९७ करोड) बढी गरेको छ। ब्रोकर नं. ३४, ४५, ५६ पनि सेल बढी गर्ने सूचिमा परे। ब्रोकर नं. ४२ र १७ ले भने बाई बढी गरेका छन्, जसले केही ब्रोकरमार्फत बजारमा पोजिटिभ आशा कायम रहेको संकेत दिन्छ।