प्राविधिक स्तरमा समेत बजार कमजोर, २०० दिनको मूभिङ एभरेजसम्म खस्ने संकेत
Author
NEPSE TRADING

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार फेरि दबाबमा रह्यो। लगातार तेस्रो दिन ओरालो लाग्दै गएको नेप्से परिसूचक यस दिन पनि तल झर्यो। विश्लेषकहरूले यसलाई सरकारले शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लगानीकर्तामा उत्पन्न भएको अविश्वाससँग जोडेर व्याख्या गरेका छन्।
यसअघि कालो धनमार्फत बजारमा आएको रकम परिचयपत्र प्रणाली लागू भएपछि बाहिरिन सक्ने भय बढेको छ। सम्पत्ति सुद्दीकरणको डरले धेरै लगानीकर्ताले सेयर बेचाइ बढाएको देखिन्छ। साथै, दोस्रो बजारमा सक्रिय रहेका गैरआवश्यक नेपाली (एनआरएनए) ले पनि नागरिकता प्रमाणपत्रकै आधारमा कारोबार गर्दै आएका थिए। तर, राष्ट्रिय परिचयपत्र अद्यावधिकमा समस्या हुने भएकाले उनीहरू बजारबाट बाहिरिन बाध्य भएको विश्लेषण गरिएको छ।
आइतबार नेप्से परिसूचक १८.०२ अंकले घट्दै २७३९.९५ विन्दुमा झर्यो। तर परिसूचक घटेपनि कारोबार रकम भने बढेर करिब ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यस दिन ३२३ कम्पनीका १ करोड ४० लाख कित्ता सेयर ५८ हजार १०५ पटकको कारोबारमार्फत किनबेच भएको थियो।
मुख्य उतार–चढाव
विकास हाइड्रोपावर सकारात्मक सर्किटमा पुग्दै ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ७० पैसामा पुगेको छ।
सिवाईसी नेपाल लघुवित्त को मूल्य साढे ४ प्रतिशतभन्दा बढीले बढ्यो।
नारायणी डेभलपमेन्ट बैंक भने ७.२९ प्रतिशतले घट्दै दिनकै सबैभन्दा ठूलो गिरावटमा रह्यो।
कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको मात्र करिब १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी (२४ करोड ५० लाख) र हिमालयन रि इन्स्योरेन्स (२३ करोड रुपैयाँभन्दा बढी) को कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूह मात्र हरियालीमा रह्यो भने १२ उपसमूह राताम्मै भए। उत्पादन तथा प्रशोधन उपसमूह ०.१५ प्रतिशतले बढ्दा विकास बैंक उपसमूह १.६९ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। जलविद्युत उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घट्यो।
विश्लेषकहरूले अब बजारमा नयाँ विश्वास जगाउन ठूलै नीतिगत पहलको आवश्यकता रहेको बताएका छन्। लगानीकर्ताले “मार्जिन ट्रेडिङ सहज बनाउनुपर्ने” र “बैंकलाई दोस्रो बजारमा सहज रूपमा कारोबार गर्न दिने व्यवस्था मिलाउनुपर्ने” माग गरेका छन्।
प्रविधिक विश्लेषण
प्राविधिक सूचकले बजार अझै कमजोर देखाइरहेको छ। लगातार पाँचवटा रातो क्यान्डल बनेपछि नेप्सेले सबैभन्दा बलियो मानिएको ६१% फिबोनाची रिट्रेसमेन्ट स्तरलाई समेत भत्काउँदै तल बन्द भएको छ। यससँगै बजार केही दिनयता बसिरहेको साइडवेज दायरा पनि भंग भएको छ।
प्राविधिक विश्लेषक अजित खनालका अनुसार अहिले बजारमा कुनै पनि सकारात्मक संकेत देखिएको छैन। बरु, सपोर्ट भत्किएको दिनमै कारोबार रकम बढ्नु बजारमा बेच्ने दबाब अझ प्रष्ट भएको संकेत हो।
हाल RSI ३७ मा रही ओभरसोल्ड जोनतिर झर्ने कोसिस गरिरहेको छ। बजारको सबैभन्दा बलियो आधाररेखा अब २०० दिनको मूभिङ एभरेज (200MA) हो, जुन करिब २७०० विन्दु आसपासमा पर्छ। RSI पनि सो समयमा ३० नजिक पुग्ने भएकाले बजार २००MA सम्म खस्ने जोखिम बढेको देखिन्छ।
पछिल्ला केही दिनको तुलनामा कारोबार रकम उल्लेख्य बढेको छ, जसमा ठूला कम्पनीहरूको म्याचिङ्ग कारोबार प्रमुख कारण बनेको छ। विशेषगरी हाइड्रोपावर उपसमूहमा ठूलो मात्रामा सप्लाई आएको छ। कारोबार हिस्सामा उत्पादन तथा प्रशोधन समूह मात्रै ३० प्रतिशतभन्दा माथि पुगेको छ, जहाँ हिमालयन डिष्टिलरी (HDL) ले ठूलो संख्यामा म्याचिङ्ग कारोबार गरेको देखिन्छ।
दस ठूला ब्रोकरेजमध्ये ६ वटाले बेचाइ बढी गर्दा ४ वटाले खरिद बढी गरेका छन्। आइतबार मात्र ३४ नं. ब्रोकर मार्फत एचडीएलको ५ लाख ३२ हजार कित्ता खरिद र ८ लाख ८८ हजार कित्ता बिक्री भएको छ।