लघुवित्त पीडित आन्दोलन : नयाँ विद्रोहको चेतावनी
Author
NEPSE TRADING

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष गर्दै आएका पीडितहरुले आफ्नो आन्दोलनलाई अझै सशक्त बनाउने घोषणा गरेका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा चार वर्षदेखि निरन्तर संघर्ष गरिरहे पनि न्याय नपाएको भन्दै उनीहरुले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले वैशाख २०८३ सम्म पनि माग सम्बोधन नभए राष्ट्रिय सम्मेलनपछि विद्रोह सुरु गर्ने चेतावनी दिए। उनले राजनीतिक दलहरुले वित्तीय दलाल र माफियालाई संरक्षण गरे सडकबाटै लखेट्ने उद्घोषसमेत गरे।
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पीडितको आवाज सुन्न सरकार र सत्तारुढ दल विफल भएको आरोप लगाउँदै कानुनी बाटोबाट संघर्षलाई अघि बढाउन सुझाव दिए। अधिवक्ता कृष्ण शर्माले राज्य संयन्त्र नै प्रयोग गरेर गरिब जनतालाई शोषण भइरहेको आरोप लगाउँदै थप संघर्ष आवश्यक रहेको बताए।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले ३६ महिनादेखि आन्दोलनरत रहँदा महिलादेखि पुरुषसम्मले अर्धनग्न रुपमा पनि न्यायको माग गर्दा राज्यले बेवास्ता गरेको भन्दै रोष व्यक्त गरे।
कार्यक्रममा समितिका युवा तथा सांस्कृतिक विभाग प्रमुख रमेश सेन्चुरीले उच्च व्याजदर, असमान ऋण वितरण र जबर्जस्ती असुली अन्त्यका लागि १३ बुँदे मागपत्र सार्वजनिक गरेका थिए। कार्यक्रममा विभिन्न प्रदेश संयोजक, अभियान्ता र पीडितहरुको उल्लेख्य उपस्थिति थियो।