मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, विशेष साधारणसभा असार १९ मा
Author
NEPSE TRADING

मोदी इनर्जी लिमिटेडले हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। यस प्रस्तावलाई पारित गर्न कम्पनीले विशेष साधारणसभा आगामी असार १९ गते रानीमहल बैंक्वेट, ज्ञानेश्वरमा बिहान ११ बजेका लागि बोलाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर जारीपछि पुँजी वृद्धि हुने भएकाले उक्त पुँजीको उपयोग सम्बन्धी योजना पनि सभामा प्रस्तुत गरिनेछ। साथै, अधिकृत र जारी पुँजी वृद्धि गर्ने तथा संस्थापक समूहबाट एक जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभामा छलफलका लागि राखिनेछ।
सभाका लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार ११ गतेसम्म नाममा शेयर कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।