·

मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो

Author

NEPSE TRADING

मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक तरंग ल्याएको छ। मौद्रिक नीतिपछि आइतबार खुलेको बजारमा नेप्से सूचक २९.०० अंकले बढेर २७६०.८० विन्दुमा बन्द भएको छ। दिनभर उकालो लाग्ने क्रम जारी रहँदा सूचक इंट्राडेमा ६६ अंकसम्म उकालो लागेको थियो।

कारोबार ११ अर्ब नाघ्यो, बैंक र माइक्रो अगाडि

मौद्रिक नीतिले सिर्जना गरेको सकारात्मक मनोविज्ञानका कारण कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
बैंकिङ्ग र लघुवित्त उपसमूहको अगुवाइमा बजारको धार उक्लिएको हो। बैंकिङ परिसूचक झण्डै ३.५ प्रतिशत ले बढ्दा लघुवित्त परिसूचक पनि ३.५० प्रतिशत ले माथि गएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहमा वृद्धि देखिएको छ भने जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा सामान्य गिरावट आएको छ।

मौद्रिक नीतिको मुख्य बुँदा: शेयर धितो कर्जाको सीमा वृद्धि

नयाँ मौद्रिक नीतिले व्यक्तिगत शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याएको छ, जसलाई लगानीकर्ताहरूको लामो माग पूरा भएको सकारात्मक संकेतको रूपमा हेरिएको छ।
त्यस्तै, राष्ट्र बैंकको स्वीकृतिमा पुँजी वृद्धिको व्यवस्था, हकप्रद शेयर जारी गर्ने स्वतन्त्रता, र ब्याजदर करिडोर घटाउने नीति लगानीमैत्री बनेको छ।

ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट ६ प्रतिशत र तल्लो सीमा ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारिएको छ, जसले निक्षेपको ब्याजदर घटाउने अनुमान गरिएको छ। यसले शेयर बजारमा वैकल्पिक लगानीकर्ता आकर्षित हुने विश्लेषण गरिएको छ।

साथै, लघुवित्तको १५% भन्दा बढी लाभांश वितरणमा पुनरावलोकन गरिने नीति ल्याइएको छ, जसले लघुवित्ततर्फ लगानीकर्ता झनै आकर्षित भएका छन्।

प्राविधिक विश्लेषण: ब्रेकआउट भए पनि सर्तकता आवश्यक

नेप्सेले लामो समयदेखि रोकिएको २७४० को बलियो रेसिस्टेन्स ब्रेक गर्दै ग्याप-अप ओपनिङसहित २७६० माथि बन्द भएको छ। तर, दिनको अन्त्यमा बनेको शूटिङ स्टार क्यान्डल ले प्रविधिक विश्लेषकहरूलाई सर्तक बनाएको छ।
शूटिङ स्टार क्यान्डल उच्च कारोबारसहित बनेको हुँदा संभावित ट्रेन्ड रिवर्सलको संकेत दिन सक्छ। RSI पनि ओभरबोट जोन (७० माथि) मा पुगेको छ, जसले बजारमा मुनाफा बुकिङ सुरु हुन सक्ने अनुमान देखाउँछ।

ब्रोकर विश्लेषण: मसान्तरको प्रभाव, उधारो कारोबारको दबाब

ब्रोकर क्रियाकलाप विश्लेषण गर्दा १० ठूला ब्रोकरमध्ये ६ ब्रोकरले बढी सेल गरेका छन् भने ४ ब्रोकरले बाई बढी गरेका छन्। बजार खुलेलगत्तै देखिएको तीव्र उत्साहलाई केही मसान्तर कारोबार र उधारो किनबेचको तनावले दबाएको देखिन्छ।

नयाँ मौद्रिक नीतिले बजारमा तत्कालीन सकारात्मक संकेत त दिएको छ, तर प्रविधिक सूचकहरूले सर्तकता पनि अपनाउनुपर्ने संकेत गरिरहेका छन्।
लगानीकर्ताहरूको आत्मविश्वास बढेको देखिए पनि अबको बजार चाल बैंकिङ मुनाफा सिजन, मौद्रिक कार्यान्वयन र ब्याजदर समायोजनको गतिमा निर्भर रहनेछ।
साथै, राजनीतिक स्थायित्व र तरलता व्यवस्थापन पनि बजारको दीर्घकालीन धार तय गर्ने महत्वपूर्ण कारक बन्नेछ।

Related News