·

सामाजिक सुरक्षामा उद्योगसमेत आबद्ध गरिँदै, कोष र सिएनआई बीच समझदारीपत्रमा हस्ताक्षर

Author

NEPSE TRADING

सामाजिक सुरक्षामा उद्योगसमेत आबद्ध गरिँदै, कोष र सिएनआई बीच समझदारीपत्रमा हस्ताक्षर

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उद्योग–व्यवसायको सहभागिता बढाउने उद्देश्यले सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बीच मङ्गलबार औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सिएनआईका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार सिएनआईले आफ्नो सदस्यतामा रहेका सङ्घ, संस्था तथा उद्योग–प्रतिष्ठानलाई श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअनुसार सामाजिक सुरक्षा कोषमा जोड्न सहजीकरण गर्नेछ। साथै, कोषले सिएनआईसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा तालिम कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा बोल्दै कोषका अध्यक्ष किश्र्णहरि पुष्करले समझदारीले परिसङ्घमा आबद्ध सबै प्रकारका उद्योग–व्यवसायलाई सामाजिक सुरक्षा योजनामा समेट्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उहाँका अनुसार रोजगारदाता तथा श्रमिक दुवैको आबद्धता विस्तार गर्न यो कदम महत्वपूर्ण माध्यम बन्नेछ।

सिएनआईका महानिर्देशक डा. घनश्याम ओझाले पनि उद्योगी तथा प्रतिष्ठानलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सक्रिय रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्यसेवा पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धि’ भन्ने नारासहित मनाइँदै गरिएको आठौँ सामाजिक सुरक्षा दिवसका लक्ष्यहरू हासिल गर्न पनि यो समझदारीले सहयोग पुग्ने सामाजिक सुरक्षा कोषले जनाएको छ।

Related News