·

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुला

Author

NEPSE TRADING

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुला

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यस अन्तर्गत हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर जारी हुनेछ।

यस क्रममा बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुनेछ। हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा शेयरधनी बनेकाहरूले आवेदन दिन सक्नेछन्। आवेदन असोज २२ गतेसम्म दिन सकिने व्यवस्था छ।

यस निष्काशनलाई इक्रा नेपालले इक्राएनपी इश्युअर रेटिङ्ग सी प्लस (ICRA NP IRR C+) प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई दिइएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय र विभिन्न शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत र ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि चुक्ता पूँजी दोब्बर वृद्धि भई ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

बैंकले हकप्रदमार्फत संकलित रकमलाई धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्ने तथा भौतिक पूर्वाधार विकास र शाखा विस्तारमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ।

Related News