·

एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज

Author

NEPSE trading

एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज

अब गैरआवासीय नेपाली (एनआरएन)हरूले नेपाली रुपैयाँमै नेपालका इन्भेष्टमेन्ट कम्पनीमा शेयर आवेदन दिन र लगानी तथा मुनाफा सहजै फिर्ता लैजान सक्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा चौथो संशोधन गर्दै यस्तो सहजता ल्याएको हो।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन ऐन, २०१९ को दफा १०(क) अनुसार विनियमावली २०७८ मा आवश्यक संशोधन गरेको जनाएको छ। अब एनआरएनले इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिद गर्न विदेशी लगानी स्वीकृतिपूर्व नै रकम नेपाल ल्याउन सक्नेछन्। स्वीकृति पछि मात्र लगानी प्रक्रिया अघि बढ्ने हो भन्ने अड्चन अब हटेको छ।

संशोधनअनुसार, एनआरएनहरूले नेपाली बैंकमा नेपाली रुपैयाँमै खाता खोली त्यही खाताबाट आईपीओ आवेदन दिन सक्नेछन्। यसअघि विदेशी मुद्रामै खाता खोल्नुपर्ने र लगानी गर्नुपर्ने जटिलता हटाइएको छ। यससँगै एनआरएनहरूको १० अर्ब चुक्ता पुँजीमा आधारित एनडीएफ (NRN Development Fund) मार्फत ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन बाटो खुलेको छ।

एनआरएनले भरिएको आईपीओमा शेयर नपरेमा लगानी रकम फिर्ता गर्न सम्बन्धित बैंक, इन्भेष्टमेन्ट कम्पनी वा शेयर रजिस्ट्रारको सिफारिस सहित निवेदन दिनुपर्नेछ। साथै, विदेशी लगानीकर्ताले प्राप्त मुनाफा वा लगानी फिर्ता रकम पनि नेपाली रुपैयाँमै सञ्चालित खाताबाट लैजान सक्ने प्रस्ट व्यवस्था गरिएको छ।

नयाँ संशोधनले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलजस्ता विशिष्टीकृत लगानी कोषमा विदेशी लगानी ल्याउन अनुमति दिएको छ। राष्ट्र बैंकले यस्ता इकाइ बिक्रीबापतको रकम भित्र्याउने तथा मुनाफा लैजाने व्यवस्था पनि खुला गरेको छ।

यसपटकको संशोधनमा ‘प्रविधि हस्तान्तरण’को परिभाषा समेत विस्तारित गरिएको छ। यसअन्तर्गत पेटेन्ट, डिजाइन, ट्रेडमार्क, व्यापारिक ख्याति, प्राविधिक ज्ञान, स्रोत र प्रक्रिया आदिलाई समेटिएको छ। साथै आईटी, मार्केटिङ, लेखा, इन्जिनियरिङ, आउटसोर्सिङ लगायत विविध सेवाहरूलाई पनि प्रविधि हस्तान्तरणको रूपमा परिभाषित गरिएको छ।

यस व्यवस्थाले एनआरएनहरूका लागि नेपालको पुँजी बजारमा लगानीको ढोका झनै फराकिलो बनाइदिएको छ। नेपाली रुपैयाँमै कारोबार गर्न पाइने भएकाले विदेशी मुद्रा सम्बन्धी सीमितता हट्न गएको र लगानी सुरक्षित तथा पारदर्शी बन्ने अपेक्षा गरिएको छ।

Related News