·

राष्ट्र बैंकले बजेट कार्यान्वयनका लागि तयारी थाल्यो: गभर्नर पौडेल

Author

NEPSE trading

राष्ट्र बैंकले बजेट कार्यान्वयनका लागि तयारी थाल्यो: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख गरिएका विषयहरू कार्यान्वयन गर्न राष्ट्र बैंकले आवश्यक तयारी सुरु गरिसकेको बताएका छन्। शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर पौडेलले राष्ट्र बैंकको तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पारे।

गभर्नर पौडेलले बजेटमा मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित नयाँ कानुन निर्माणको प्रस्तावलाई सकारात्मक ठहर गर्दै यसले वित्तीय क्षेत्रको सुदृढीकरणमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। उनले बजेटमा प्रस्तावित खराब कर्जा तथा गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) को स्थापनालाई महत्वपूर्ण र समय सान्दर्भिक कदमका रूपमा व्याख्या गरे।

बजेटले वित्तीय प्रणाली सुधार र नियामक निकायहरूको क्षमता अभिवृद्धि, दोश्रो वित्तीय क्षेत्र सुधार रणनीति कार्यान्वयन, र ग्रामीण क्षेत्रमा बैंक पहुँच विस्तार जस्ता नीति प्रस्तुत गरेको छ। यसै सन्दर्भमा गभर्नर पौडेलले भने, "बजेटका नीति तथा कार्यक्रमप्रति राष्ट्र बैंक सकारात्मक छ। हामी अध्ययनको चरणमा छौँ र कार्यान्वयनको तयारी गरिरहेका छौँ।"

बजेटले के भन्यो?

  • बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गरिने।

  • दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति कार्यान्वयन गरिने।

  • व्यवसाय संकुचनको कारण समस्या झेलिरहेका उद्योगी–व्यवसायीलाई कर्जा पुनर्तालिकीकरण, कार्यशील पुँजी प्रवाह, र ब्याज जरिवानामा सहुलियत प्रदान गरिने।

  • आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिने।

  • दुर्गम क्षेत्रमा बैंक पहुँच विस्तार र डिजिटल, मोबाइल, शाखारहित बैंकिङ्ग सेवालाई प्रवर्द्धन गरिने।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बजेटको प्रभावकारिता कार्यान्वयन, अनुगमन, र मूल्याङ्कनमा निर्भर रहने बताए। उनले नीतिगत, व्यवहारिक, र संरचनात्मक सुधारमा योजना आयोगले सबै मन्त्रालयसँग समन्वय गर्दै कार्य योजना बनाउन लागिने जानकारी दिए।

उनका अनुसार बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूबीच छिट्टै छलफल सुरु गरिनेछ र आगामी बजेट १६औँ आवधिक योजना कार्यान्वयनमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

Related News