राष्ट्र बैंकको नयाँ व्यवस्था: अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्नुपर्ने
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य नगद मौज्दात (CRR) सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको कम्तीमा ९० प्रतिशत रकम दैनिक रूपमा कायम गर्नुपर्नेछ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको निर्देशनअनुसार यो व्यवस्था २०८२ साल जेठ १८ गतेदेखि लागू हुनेछ। यसअघि, २०७९ साल भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था थियो, जसअनुसार कम्तीमा ७० प्रतिशत रकम दैनिक रूपमा बैंकमा राख्नु पर्ने थियो। अब भने उक्त न्यूनतम सीमा बढाएर ९० प्रतिशत पुर्याइएको हो।
राष्ट्र बैंकको भनाइमा, ‘‘यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत यस बैंकमा राख्नु पर्नेछ। उक्त मौज्दातको कम्तीमा ९० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्नेछ।’’
कसरी गरिन्छ मौज्दातको गणना?
अनिवार्य मौज्दात गणना गर्न साप्ताहिक औसत निक्षेपको आधारमा प्रक्रिया अपनाइन्छ। कुल निक्षेप दायित्वको हकमा हरेक साता (आइतबारदेखि शनिबारसम्म) को कुल निक्षेप रकमलाई सातले भाग गरेर दैनिक औसत निर्धारण गरिन्छ। यसैगरी, मौज्दातको औसत पनि १४ दिनको अवधिमा आइतबारदेखि दोश्रो हप्ताको शनिबारसम्मको मौज्दातलाई चौधले भाग गरेर निकालिन्छ।
यो नयाँ व्यवस्थाबाट बैंक तथा वित्तीय संस्थाहरूलाई थप अनुशासित बनाउने तथा मौद्रिक नीति कार्यान्वयनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले वित्तीय प्रणालीको स्थायित्व र पारदर्शिता अभिवृद्धिमा समेत योगदान पुर्याउने विश्वास गरिएकाे छ ।