·

राष्ट्र बैंकको निष्कर्षः जेनजी आन्दोलनपश्चात अर्थतन्त्र सुधारतर्फ

Author

NEPSE TRADING

राष्ट्र बैंकको निष्कर्षः जेनजी आन्दोलनपश्चात अर्थतन्त्र सुधारतर्फ

नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका क्रममा अर्थतन्त्रमा परेको क्षति विस्तारै सुधार हुँदै गएको जनाएको छ। बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आन्दोलनपछि बनेको सरकारले शान्ति–सुरक्षा, सुशासन र पुनर्निर्माणमा प्राथमिकता दिएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गरेको हो।

ढिलो मनसुनका कारण कृषि उत्पादनमा केही असर परेको र भदौ महिनामा जेनजी आन्दोलनका क्रममा आर्थिक क्षति पुगेको भए पनि त्यसपछिका महिनामा सुधारको संकेत देखिएको राष्ट्र बैंकको मूल्याङ्कन छ। बैंकका अनुसार, नयाँ सरकारले प्रभावित व्यवसायका लागि राहत र सहुलियतका कार्यक्रम अघि सारेको, पुनर्निर्माण र सुशासनमा जोड दिएकाले आर्थिक गतिविधिमा गतिशीलता फर्किएको छ।

राष्ट्र बैंकले हाल मुद्रास्फीति न्यून रहेको र आयातित वस्तुको मूल्य घट्दो क्रममा भएकाले उपभोक्ता मुद्रास्फीति लक्षित दायराभित्र रहने विश्वास व्यक्त गरेको छ।

प्रथम त्रैमासमा निर्माण र जलविद्युत् उपसमूहको योगदान बढ्ने अनुमान गरिएको छ। नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालनको तयारीसँगै आवागमन सहज हुने र उत्पादकत्वमा वृद्धि हुने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, जलविद्युत् उत्पादन विस्तार र आगामी वर्ष राष्ट्रिय प्रसारणमा थपिने परियोजनाहरूले आर्थिक वृद्धिमा टेवा पुग्ने देखिन्छ। तर रसुवागढी–केरुङ नाकामा बाढी र पहिरोका कारण औद्योगिक आपूर्तिमा समस्या देखिएकाले उद्योग क्षेत्रमा केही नकारात्मक असर पर्ने सम्भावना राष्ट्र बैंकले औँल्याएको छ।

वैदेशिक रोजगारीमा जाने संख्यामा वृद्धि भई विप्रेषण आय उत्साहजनक रहने अनुमान गरिएको छ। पर्यटन क्षेत्रमा पनि आन्दोलनपश्चात सुधार देखिएको र विदेशी पर्यटक आगमन पुनः बढ्न थालेको प्रतिवेदनमा उल्लेख छ।

पूर्वाधार क्षेत्रमा पनि सकारात्मक प्रगति भएको राष्ट्र बैंकको भनाइ छ। सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सुरुङमार्ग लगायतका आयोजना तीव्र गतिमा अघि बढेका छन्। तर भोटेकोशी बाढी र पहिरोका कारण केही पूर्वाधारमा क्षति पुगेकाले अल्पकालीन असर पर्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकका प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहनेछ भने कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२ प्रतिशत रहनेछ। गत वर्षको संशोधित वृद्धिदर ३.७ प्रतिशत थियो।

Related News