राष्ट्र बैंकले आज ४५ अर्ब निक्षेप संकलन गर्दै
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले आज (बुधवार) ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। हाल वित्तीय प्रणालीमा ७२ खर्ब रुपैयाँभन्दा बढी कुल निक्षेप रहेको र अधिक तरलता कायमै रहेकाले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरी राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न लागेको हो।
यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोडदेखि निर्धारित सीमा भित्र रकम प्रस्ताव गर्न सक्नेछन्। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिई बाँडफाँट गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यस पटक संकलन हुने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८२ असोज ५ गते हुनेछ। यो निक्षेप संकलन पनि अनलाइन खरिद प्रणालीमार्फत हुने भएको छ।
केन्द्रिय बैंकले वित्तीय बजारमा दीर्घकालीन तरलता व्यवस्थापनका लागि पटक–पटक यो उपकरण प्रयोग गर्दै आएको छ। संरचनात्मक खुला बजार कारोबार अन्तर्गत अधिकतम ६ महिनासम्म निक्षेप संकलन गर्न सकिने प्रावधानअनुसार आजको निक्षेप संकलन गरिएको हो।