राष्ट्र बैंकले ९० अर्ब तरलता झिक्दै – न्यूनतम १० करोड र अधिकतम ५ करोडका गुणकमा बोलकबोल
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्नका लागि आज आइतबार पनि ९० अर्ब रुपैयाँ बजारबाट निकाल्ने भएको छ । राष्ट्र बैंकले यो रकम ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत झिक्ने जनाएको छ ।
राष्ट्र बैंकको सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव गर्नुपर्ने र ५ करोड रुपैयाँका गुणकमा थप प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ ।
यो बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदरमा पनि भाग लिन सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
गत साताको तिहार बिदाका कारण राष्ट्र बैंकले पैसा निकाल्न सकेको थिएन । बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन आइतबारै राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ९० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो ।
चालु आर्थिक वर्षमा आएको विस्तारमुखी बजेट र मौद्रिक नीतिका कारण कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको थियो । तर भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि कर्जा विस्तार ठप्प जस्तै भएको बैंकहरूले जनाएका छन् । यसकै कारण बैंकहरूमा निक्षेप बढ्दै गएको र ऋण दिन मिल्ने रकम थुप्रिँदै गएको देखिएको छ ।



