गभर्नरमा कांग्रेसको प्रस्ताव विश्व पौडेलको नाममा, समझदारी टुटेपछि विकल्प खोजियो
Author
NEPSE trading

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम प्रस्ताव गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ कांग्रेस र एमाले शीर्ष नेताहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेका हुन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। वैशाख ३ गते भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ गते कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि देउवाले विकल्प स्वरूप विश्व पौडेलको नाम अघि सारेको स्रोतले जानकारी दिएको छ।
दुई दलबीच भएको भागबन्डाअनुसार गभर्नरको जिम्मेवारी कांग्रेसले पाउने सहमति रहेको बताइएको छ। संवेदनशील निकाय मानिने राष्ट्र बैंकमा एक दिन पनि गभर्नरको पद रिक्त नरहुनुपर्ने मान्यताअनुसार गभर्नरको पदावधि सकिनु एक महिनाअगावै नयाँ नियुक्ति गर्नुपर्ने कानुनी प्रावधान छ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले चैत २४ गते आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका थिए। कानुन अनुसार फागुन २४ मै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने भए पनि सरकारले ढिलासुस्ती गर्दै चैत ११ मा मात्रै सिफारिस समिति गठन गरेको थियो। तर डेढ महिना बितिसक्दा पनि नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन, जसले बैंकको नेतृत्वमा अन्योलको अवस्था सिर्जना गरेको छ।