नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक
Author
NEPSE TRADING

साताको चौथो दिन बुधबार पनि नेपाली शेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.३३ अंकले घट्दै २६००.२० विन्दुमा बन्द भएको हो । असार मसान्तको प्रभावले बजारमा केही दबाब देखिए पनि लगानीकर्ताको मनोविज्ञानले अझै निर्णायक असर पुर्याइरहेको विश्लेषकहरूको भनाइ छ ।
आजको कारोबारमा १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर ६१ हजार पटक किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ । कुल ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनी घटेका छन् । मोदि इनर्जी लिमिटेडको शेयरमा ९.९९% ले सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर, पञ्चकन्या माई, त्रिशुली हाइड्रो, र माउन्टेन हाइड्रोको मूल्य समेत उल्लेख्यरुपमा बढेका छन् ।
उपसमूहतर्फ होटल तथा पर्यटन समूह १.४३% ले अगाडि देखिँदा इन्भेस्टमेन्ट समूहको कारोबार हिस्सा ८% बाट १०% मा पुगेको छ । कारोबारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहँदा उसले मात्र ५३ करोड ९४ लाख रुपैयाँको कारोबार गरेको छ ।
प्रविधिक विश्लेषणतर्फ

नेप्से पछिल्ला तीन दिनदेखि एउटै सपोर्ट लाइन वरिपरि स्थिर छ । सोमबार बनेको 'इन्वर्टेड ह्याम्बर' क्यान्डलले ट्रेन्ड रिवर्सलको आशा जगाए पनि त्यसलाई पुष्ट्याउने बलियो क्यान्डलहरू बन्न नसक्दा बजार अझै अनिश्चित अवस्थामा रहेको देखिन्छ । कारोबारको सन्दर्भमा जलविद्युत कम्पनीहरूको हिस्सा ६३% पुगेको छ, जसले हाईड्रोमा चासो बढेको संकेत गर्छ ।
ब्रोकर विश्लेषणतर्फ
ब्रोकर नम्बर ५८ ले १ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै सबैभन्दा अगाडि देखिए पनि नेट होल्डिङ –८ करोड ४० लाख रुपैयाँ रहेको छ । उसको बाइ सेल रेसियो ०.८५१ रहेकोले बिक्री दबाब उच्च छ । त्यस्तै ब्रोकर ४२ को रेसियो ०.७१३ मात्र छ ।
दोसोतर्फ, ब्रोकर ३८ र ४५ ले क्रमशः ३ करोड ७० लाख र २ करोड ३६ लाख रुपैयाँको नेट खरिद गर्दै बाय साइडमा आक्रामकता देखाएका छन् ।
बजार लगातार साइडवेज अवस्थामा रहँदा स्पष्ट ट्रेन्ड देखिएको छैन । तर सपोर्ट लाइनमा बजार अडिन खोजिरहेको प्राविधिक संकेत, हाईड्रोपावर र इन्भेस्टमेन्ट सेक्टरमा चासो, र ब्रोकरहरूको खरिद–बिक्री व्यवहारले बजार अझै सेलर डोमिनेन्ट अवस्थामा रहेको देखाउँछ । लगानीकर्ताले सावधानीपूर्वक निर्णय लिनुपर्ने अवस्था कायमै छ ।