·

नेपालमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुग्यो, मध्यपहाडी र हुलाकी लोकमार्गको निर्माणमा प्रगति

Author

NEPSE trading

नेपालमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुग्यो, मध्यपहाडी र हुलाकी लोकमार्गको निर्माणमा प्रगति

आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार, नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ। यो तथ्याङ्क २०८१ फागुन मसान्तसम्मको हो, जुन आज संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन्।

सर्वेक्षण अनुसार, हालसम्म १९ हजार १६३ किलोमिटर कालोपत्र, ८ हजार २०४ किलोमिटर खण्डास्मित, र ८ हजार ७६५ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ। २०८१ असारसम्म सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो।

मध्यपहाडी लोकमार्ग

१,८७९ किलोमिटर लम्बाइको मध्यपहाडी लोकमार्गमा २०८१ असारसम्म १,४५२ किलोमिटर सडक कालोपत्र भएको थियो भने फागुनसम्म थप ११ किलोमिटर कालोपत्र भई कुल १,४६३ किलोमिटर पुगेको छ। यस लोकमार्गअन्तर्गत पर्ने १३७ पुलमध्ये १०७ पुलको निर्माण सम्पन्न भइसकेको छ।

हुलाकी लोकमार्ग

१,८५७ किलोमिटर लम्बाइको हुलाकी लोकमार्गमा २०८१ असारसम्म १,२५९ किलोमिटर सडक कालोपत्र भएको थियो भने चालु वर्षको फागुनसम्म ३२ किलोमिटर थपिएर कुल १,२९१ किलोमिटर पुगेको छ। यसअन्तर्गत रहेका २५० पुलमध्ये १४२ पुल निर्माण सम्पन्न भइसकेको छ।

कालीगण्डकी करिडोर (उत्तर–दक्षिण लोकमार्ग)

गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड अन्तर्गत २४५ किलोमिटर सडकमा १९५ किलोमिटर कालोपत्र भइसकेको छ।
मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डमा २०८१ असारसम्म ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र र १० पुल निर्माण भइसकेको थियो भने फागुनसम्म थप ६५ किलोमिटर सडक कालोपत्र र १३ पुल निर्माण सम्पन्न भएको छ।

सर्वेक्षणले नेपालमा भौतिक पूर्वाधार निर्माणमा प्रगति भइरहेको देखाएको छ, तर अझै केही खण्डहरूमा निर्माण कार्य तीव्र पार्नुपर्ने आवश्यकता देखिएको छ।

Related News