·

शीर्ष १० आयात वस्तु : दुई महिनामै खर्बौँको वस्तु भित्रियो

Author

NEPSE TRADING

शीर्ष १० आयात वस्तु : दुई महिनामै खर्बौँको वस्तु भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ३ खर्ब बढीको वस्तु तथा सेवा आयात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार कुल आयात रकम ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा आयात वृद्धि दर १६ प्रतिशतभन्दा बढी रहेको छ। यसमध्ये शीर्ष १० आयात वस्तुले मात्रै ठूलो हिस्सा ओगटेका छन्।

खनिज इन्धन र तेलमै उच्चतम आयात

सबैभन्दा ठूलो हिस्सा खनिज इन्धन, पेट्रोलियम पदार्थ र अन्य तेलजन्य उत्पादनको छ। यस शिर्षकअन्तर्गत दुई महिनामै ४५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी बराबरको वस्तु आयात भएको छ। नेपालको कुल आयातमा पेट्रोलियम पदार्थ नै प्रमुख रहँदै आएको छ, जसले विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब सिर्जना गरेको छ।

खाद्य तेल दोस्रो स्थानमा

दोस्रो ठूलो आयात जनावर तथा वनस्पतिजन्य तेल र बोसो हो। यस शिर्षकमा करिब २७ अर्ब ४१ करोड रुपैयाँ बराबरको तेल र बोसो भित्रिएको छ। नेपालमा खाद्य तेल उद्योग सक्रिय भए पनि यसको आयातको परिमाण उच्च देखिएको छ, जसले उद्योगहरू कच्चा पदार्थमा आयात निर्भर रहेको संकेत गर्छ।

फलाम, स्टील र मेसिनरी

तेस्रो स्थानमा फलाम र स्टील रहेका छन्। यस शीर्षकमा दुई महिनामै करिब २२ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। मुलुकमा पूर्वाधार तथा उद्योग निर्माण बढेसँगै स्टील उत्पादनका लागि कच्चा पदार्थमा आयात बढिरहेको विश्लेषण गरिएको छ।

चौथो र पाँचौँ स्थानमा क्रमशः विद्युतिय उपकरण तथा पार्टपुर्जा (२२ अर्ब १६ करोड रुपैयाँ) र मेसिनरी तथा मेकानिकल उपकरण (२१ अर्ब १८ करोड रुपैयाँ) रहेका छन्। यी दुई वस्तुहरू मुलुकको औद्योगिक र प्राविधिक विकासमा आवश्यक भए पनि ठूलो परिमाणमा आयात हुनु भने व्यापार घाटा बढाउने कारक बनेको छ।

सवारीसाधन र मल आयात

छैटौँ स्थानमा सवारीसाधन तथा पार्टपुर्जा रहेका छन्। नेपालले दुई महिनामै १७ अर्ब २२ करोड रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन आयात गरेको छ। यसले नेपालमा विदेशी गाडीको निर्भरता अझै बढिरहेको देखाएको छ।

सातौँ स्थानमा रासायनिक मल छ। यो शीर्षकमा करिब १६ अर्ब १७ करोड रुपैयाँ बराबरको मल आयात भएको छ। नेपालमा कृषि क्षेत्र अझै आयातित मलमा अत्यधिक निर्भर रहँदा कृषि नीतिमा चुनौती देखिएको छ।

अन्य शीर्ष वस्तु

शीर्ष १० मा प्लास्टिकका वस्तु (११ अर्ब ७८ करोड रुपैयाँ), औषधि (७१ अर्ब रुपैयाँ), र अनाज (८ अर्ब ७९ करोड रुपैयाँ) पनि परेका छन्। यी सबै वस्तु नेपालमा उपभोग र उद्योग दुवैका लागि आवश्यक भए पनि आयातले व्यापार घाटामा थप बोझ थपेको छ।

यी शीर्ष १० वस्तुले मात्रै कुल आयातको ठुलो हिस्सा ओगटेका छन्। पेट्रोलियम, खाद्य तेल, फलाम–स्टील, मेसिनरी, विद्युतिय उपकरण, सवारीसाधन र मल आयात नै नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो दबाबका कारक बनेका छन्। विज्ञहरूका अनुसार यस्ता वस्तुहरूको घरेलु उत्पादन र वैकल्पिक ऊर्जा स्रोतमा लगानी नगरेसम्म व्यापार घाटा अझै बढ्दै जानेछ।

Related News