नेप्से साता अन्त्यमा हल्का हरियो, तर बजारको आधार अझै कमजोर
Author
NEPSE TRADING

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक हल्का हरियो भएको छ । आज नेप्से १.१३ अंकले बढ्दै २,५४५ विन्दुमा बन्द भएको हो । दिनभर बजारमा तीव्र उतार–चढाव रह्यो । बिहानको कारोबारमा परिसूचक २,५३० विन्दुसम्म झर्दा बजार दबाबमा थियो भने दिउँसो २ः०६ बजे २,५५९ विन्दुसम्म पुगेर दिनको उच्च बिन्दु छुन सफल भयो । यद्यपि, अन्त्यमा बजारले दिगो सुधार कायम राख्न सकेन ।
सीमित कम्पनीमा मात्रै वृद्धि, बजारको चौडाइ कमजोर
आजको बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबलकार र रुरु जलविद्युत् परियोजनाका सेयर आज ‘अप्पर सर्किट’ मा पुगेका हुन् । यी कम्पनीहरूमा आएको अचानक खरिद दबाबले बजारमा क्षणिक उत्साह ल्याएको भए पनि समग्र बजारको आधार भने कमजोर नै देखियो ।
१२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनी घटे र ८ कम्पनी स्थिर रहे । यसले बजारको चौडाइ कमजोर भएको संकेत गर्छ । कारोबार रकम अघिल्लो दिनको ३ अर्ब ८४ करोडबाट घटेर आज ३ अर्ब ४९ करोडमा सीमित रह्यो । कारोबार रकम घट्नु बजारमा लगानीकर्ताको सहभागीता घट्दो संकेत हो ।
समूहगत सूचकको मिश्रित अवस्था
समूहगत रूपमा बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र व्यापार समूहमा क्रमशः ०.१२%, ०.०९%, ०.७२%, ०.२२% र ०.७९% वृद्धि भएको छ ।
तर निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा, लगानी तथा विकास बैंक समूह भने ०.०७% देखि ०.४६% सम्म घटेका छन् ।
यो मिश्रित अवस्था बजारमा स्पष्ट दिशा नदेखिएको र विश्वस्तता अभाव रहेको संकेत हो ।
बढ्ने र घट्ने कम्पनीहरूको स्थिति
बढ्ने कम्पनीमध्ये दरामखोला हाइड्रो ६.८८%, भूगोल इनर्जी ४.९९% र दोल्ती पावर ४.२०% ले उकालो लागेका छन् ।
उता, घट्ने कम्पनीहरूमा नेपाल माइक्रोइन्स्योरेन्स ४.८२%, इस्टर्न हाइड्रोपावर ३.७०%, बेस्ट फाइनान्स ३.१८% र सुपर मादी हाइड्रो २.५०% ले गिरावट देखाए । यसले बजारमा उच्च जोखिमयुक्त उतार–चढाव जारी रहेको संकेत गर्छ ।
बढी कारोबार भएका कम्पनीहरू
आज बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर्स, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा रहेका छन् । यी कम्पनीहरूले बजारमा केही तरलता ताने पनि समग्र बजारलाई उकास्ने सामथ्र्य देखिएन ।
आर्थिक र नीतिगत कारणले बजार कमजोर
नेपाल राष्ट्र बैंकले केही हप्ता अघि धितो कर्जा सीमा २५ करोड हटाएपछि बजारले पहिलो दिन सर्किटसहित उत्साह देखाएको थियो । तर त्यसपछिका दिनहरूमा बजारले गति लिन सकेन ।
विश्लेषकहरूका अनुसार राजनीतिक अस्थिरता, लगानी वातावरण कमजोर हुनु, व्यवसायिक विश्वास घट्नु र आर्थिक संकेतकहरूको अनिश्चितता बजारका मुख्य चुनौती हुन् ।
यिनै कारणले राष्ट्र बैंकका सुधारहरूले तत्काल बजारमा सकारात्मक प्रभाव पार्न सकेका छैनन् ।
लगातार गिरावट र लगानीकर्ताको मनोवृत्ति
पछिल्ला केही दिनदेखि बजार लगातार गिरावटको श्रृंखलामा रहँदै आएको छ । बजारको प्राकृतिक उतार–चढाव सामान्य मानिए पनि लगातार घट्ने प्रवृत्तिले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।
जेनजी आन्दोलनपछि बनेको सरकारले लगानीकर्ताको अपेक्षा अनुसार पुँजी बजारमैत्री नीति नल्याउँदा बजारमा भ्रम र अनिश्चितता बढेको विश्लेषकहरूको भनाइ छ ।
टेक्निकल विश्लेषण
टेक्निकल दृष्टिले बजार मिडल ब्यान्ड वरिपरि टिक्न संघर्षरत छ । पछिल्ला केही क्यान्डलहरूले २५४० विन्दुमा बारम्बार रिजेक्सन पाएका छन् । आज पनि बजार सोही स्तरमा अडिएको छ, जसले तत्कालीन समर्थन बलियो भए पनि दबाब कायम रहेको देखाउँछ ।
यदि बजारले २५४० विन्दु तलको सपोर्ट भत्कायो भने अर्को लक्ष्य २४७०–२४८० विन्दु आसपास रहन सक्ने अनुमान गरिएको छ ।
आजको कारोबार संरचनामा १० ठूला दलाल मध्ये ६ वटा ब्रोकरले बढी खरिद गरेका छन् भने ४ वटा ब्रोकरले बढी बिक्री गरेका छन् । यसले बजारमा सन्तुलन खोज्ने प्रयास देखिए पनि अझै स्थायित्वको संकेत देखिएको छैन ।



