नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा
Author
NEPSE TRADING

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झन्डै तीन महिनापछि फेरि २६ सयको मनोवैज्ञानिक लेवलभन्दा तल झरेको छ। नेप्से सूचक आज ३२.९३ अंकले घट्दै २५९५.९७ विन्दुमा बन्द भएको छ, जससँगै बजार निरन्तर चौथो दिन गिरावटमा रहेको हो।
बजारमाथि असार मसान्तको दबाब त छँदै थियो, तर सामाजिक सञ्जालमा फैलिएको तेस्रो विश्वयुद्ध र अमेरिकाको इरानमाथि हमलाको हल्लाले पनि बजार मनोविज्ञानलाई नराम्रोसँग असर पारेको देखिन्छ। यद्यपि केही लगानीकर्ताले यस्ता हल्लाको प्रत्यक्ष असर नपर्ने तर्क गर्दै बजारलाई चापमा ल्याएर सस्तोमा कित्ता उठाउने रणनीति देखिएको बताउँछन्।
कारोबार रकम अघिल्लो बिहीबारको ११ अर्ब २३ करोडबाट घटेर आज ९ अर्ब १४ करोड ५८ लाखमा सीमित भएको छ। ३१० वटा स्टकमा ८७ हजारभन्दा बढी पटकको कारोबारमा २ करोड १५ लाख कित्ता शेयर किनबेच भएको हो।
उतारचढाव र अग्रपंक्तिमा रहेका स्टकहरू
जोशी हाइड्रोपावरको शेयर आज ३१.६२ रुपैयाँले बढ्दै ३४८.६० रुपैयाँमा सकारात्मक सर्किटमा बन्द भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने पियोर इनर्जीको शेयर १० प्रतिशतले झर्दै बजारमा सर्वाधिक गिरावट ल्याउने स्टक बन्यो।
कारोबार रकमको हिसाबले दोर्दी खोला जलविद्युत कम्पनी ७५ करोड ७३ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यसपछि बुटवल पावर कम्पनी (७४ करोड+) र राधी विद्युत कम्पनी (४९ करोड+) ले दोस्रो र तेस्रो स्थान ओगटेका छन्।
१३ वटै उपसमूह ओरालो
आज सबै १३ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१३ प्रतिशतले घट्दा, जलविद्युत समूह साढे २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। वित्त, जीवन बीमा, उत्पादन र लघुवित्त समूहहरू १ प्रतिशतभन्दा बढी घटेका छन्।
प्राविधिक विश्लेषणको संकेत : अब बजार २५८० को ट्रिपल बटमको पर्खाइमा
आजको बजार टेक्निकल हिसाबले अत्यन्त महत्वपूर्ण मोडमा पुगेको छ। पछिल्लो ८–९ वटा हायर लो (HL) ले बजारलाई सम्हालिरहेको अवस्थामा आज पहिलोपटक उक्त संरचना भंग गर्दै नयाँ लोअर लो (LL) बनाएको छ। यो बजारको कमजोरी दर्शाउने संकेत हो।
बजारले आज दुईवटा अघिल्लो लोअर हाई (LH) लाई समेत ब्रेक गर्दै तल झरेको छ, जसले टेक्निकल हिसाबले “डेथ क्रस” को सम्भावना बलियो बनाएको छ। RSI सूचक पनि हाल ४० नजिक पुगेको छ, जुन बजार थकित छ भन्ने संकेत हो।
हाल हाइड्रो समूहमा ६७% भन्दा धेरै कारोबार केन्द्रित हुँदा अन्य उपसमूह निष्क्रिय बनेका छन्, जसले बजारलाई ब्यालेन्स गर्न सकेको छैन। अब बजार २५८० बिन्दुमा सम्भावित ‘ट्रिपल बटम’ बनाएर सम्हालिने प्रयासमा देखिएको विश्लेषकहरूको भनाइ छ।
ब्रोकर गतिविधि : किनबेचको सन्तुलन
आजको कारोबारमा ठूला १० ब्रोकरमध्ये ५ वटा ब्रोकरले बाइभन्दा बढी सेल गरेका छन् भने अन्य ५ ब्रोकरले सेलभन्दा बढी बाइ गरेका छन्।
विशेषगरी ब्रोकर नं. ३९, ४९, १७, ५६ र ३८ ले बढी सेल गर्दा, ब्रोकर नं. ५८, ३४, ४२, ४५ र ५७ ले तुलनात्मक रूपमा बढी बाइ गरेका छन्।