नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुख
Author
NEPSE trading

नेपाल सरकारबाट सेयर बजारप्रति आएका सकारात्मक नीतिगत संकेतहरूको प्रभावले पछिल्लो एक सातायता पूँजी बजारमा उल्लेखनीय सुधार देखिएको छ। मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक २४८ अंकले उकालो लागेर २९७३.७० विन्दुमा पुगेको छ, जुन पछिल्लो एक वर्षको उच्च बिन्दु हो। यससँगै कूल बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ, जुन ऐतिहासिक स्तर हो।
लगातार बढ्दो लगानीकर्ताको आत्मविश्वाससँगै बजारमा कारोबार रकमसमेत उच्च विन्दुमा पुगेको छ। सोमबार १६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ नाघेको हो।
सबै उपसमूहमा हरियाली
मंगलबारको कारोबारमा नेप्सेका १३ वटै उपसमूह हरियो रहन पुगे। उत्पादन तथा प्रशोधन उपसमूह ४.६३ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा रह्यो। जीवन बीमा र लघुवित्त उपसमूहले पनि ४ प्रतिशतभन्दा बढीको वृद्धि देखाए। होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहहरूले पनि ३ प्रतिशतभन्दा बढीले वृद्धिको दर कायम राखे।
यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीका सेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भए। त्यस्तै, उन्नती सहकार्य लघुवित्तका सेयर मूल्य करिब १० प्रतिशतले र विन्ध्यबासिनी हाइड्रोपावरका सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढे। मूल्य घटेका केही स्टकहरू रहे तापनि तीमध्ये कुनैको गिरावट ४ प्रतिशतभन्दा बढी थिएन।
कारोबार रकममा नेपाल पुनर्बीमा अगाडि
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो, जसको ७१ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ६८ करोड नाघ्यो भने हिमालयन रि इन्स्योरेन्सको कारोबार पनि ५६ करोड रुपैयाँ माथि पुग्यो।
प्राविधिक विश्लेषण : ३००० नजिकको मनोवैज्ञानिक रेखा
ट्रेडिङ भ्युमा देखिएको प्रविधिक विश्लेषण अनुसार, नेप्सेले २८४०–२८८० को बलियो रेजिस्टेन्स जोन पार गरिसकेको छ। यो क्षेत्र अघिल्लो पटक बजार रोकिएको विन्दु थियो। यसपटक भने उक्त अवरोध सहजै पार गर्दै बजार २९७० नजिक पुग्न सफल भएको हो।
विश्लेषकहरूका अनुसार, हालको ब्रेकआउट स्थिर रहन सकेमा ३००० विन्दु पार गर्नु कठिन छैन। बजारको प्रवृत्ति हेर्दा ३२०० विन्दुसम्म पुग्ने प्रक्षेपणसमेत गरिएको छ।
ब्रोकरको गतिविधि : खरिद चाप देखियो
बजारमा हिजोको तुलनामा ठूला ब्रोकरहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखिएको छ। अघिल्लो दिन सेल चाप देखाएका १० ठूला ब्रोकरमध्ये ७ वटा ब्रोकरले मंगलबार तुलनात्मक रूपमा बढी खरिद (Buy) आदेश दिएका छन् भने बाँकी ३ वटाले अझै पनि विक्री पक्ष बलियो राखेका छन्।
सरकारको सकारात्मक नीति, बढ्दो लगानीकर्ता भरोसा, सबै उपसमूहमा देखिएको हरियाली र प्राविधिक ब्रेकआउटका कारण नेप्से परिसूचक ऐतिहासिक बुल ट्रेन्डमा प्रवेश गरिसकेको छ। ३००० विन्दु पार गरेपछि बजारले ३२०० सम्मको यात्रा गर्ने विश्वास प्रबल हुँदै गएको छ।