नेप्से करिब ४ वर्षयताकै उच्च विन्दु ३००२ मा, कारोबार रकम सामान्य घट्यो
Author
NEPSE TRADING

मंगलबारको दिन नेप्से परिसूचक लगातार दोस्रो दिनका लागि बढेर बन्द भएको छ। यस दिन परिसूचक ३०.७६ अंकले उकालो लागेर ३००२.०७ विन्दुमा पुगेको हो। यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो। यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा पुगेको थियो।
नेप्से बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको देखिन्छ। सोमबार १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबारको दिन १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको मात्र कारोबार भएको छ। कुल ३२१ स्टकमा १ लाख ५७ हजार ५२५ पटक कारोबार भई ४ करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्।
यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्तका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ भने माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सका शेयरहरू ७ प्रतिशतभन्दा बढीले बढेका छन्। समता घरेलु लघुवित्तको शेयरमूल्य ८.६० प्रतिशतले घटेर सबैभन्दा धेरै ओरालो लागेको छ।