तीन कारोबार दिनको गिरावटपछि सामान्य अंकले उकालो लाग्यो नेप्से
Author
NEPSE TRADING

तीन कारोबार दिनको निरन्तर गिरावटपछि मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.२७ अंकले बढ्दै २५८४.४९ विन्दुमा पुगेको हो। साथै सेन्सेटिभ इण्डेक्स १.५७ अंकले उक्लिएको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले वृद्धि गरेको छ। परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमार्फत ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको ७६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्त, सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशतले उक्लिएको छ। यता, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने ५.९७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै करिब ३० करोड ९८ लाख रुपैयाँको कारोबार गरेको छ। १३ उपसमूहमध्ये ७ उपसमूह बढेका छन् भने ६ उपसमूह घटेका छन्।


