·

नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा गिरावट र ५० दिने मुभिङ एभरेज ब्रेकडाउन

Author

NEPSE trading

नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा गिरावट र ५० दिने मुभिङ एभरेज ब्रेकडाउन

नेप्से

नेपाली शेयर बजारको प्रमुख परिसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा घटेर बन्द भएको छ। यस दिनको कारोबारमा अघिल्लो दिनको गिरावटको क्रमलाई निरन्तरता दिँदै, नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेको छ। यससंगै सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि क्रमशः ०.५० र ०.२१ अंकले घटेका छन्।

नेप्सेसँगै यस दिनको कुल कारोबार रकममा पनि गिरावट आएको छ। साताभरी घट्दो क्रममा रहेको कारोबार रकम यस दिन पनि घटेको हो। बुधबार ५ अर्ब २० करोडको शेयर खरिद–बिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ५६,८२४ पटकको कारोबारमा कुल ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ।

विकास हाइड्रोपावरको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसको शेयरमूल्य ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.६५ प्रतिशतले घटेको छ। अन्य स्टकहरूमा पनि वृद्धि दर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ, जहाँ २४ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने बलेफि हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको देखिएको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ भने अन्य घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

फण्डामेन्टल विश्लेषकका अनुसार केहि ठूलो समाचारको प्रतिक्षा लगानीकर्ताले गरेकाछन्। विशेष गरी बैंकहरुलाइ शेयरमा लगानी गर्न सहज बनाउनु पर्ने र मार्जिन ट्रेडिङ समेत सहज बनाउनु पर्ने माग लगानीकर्ताको छ। यदी यो पुरा भएको खण्डमा बजारमा सकारात्मकता छाउने पनि विश्लेषण गरीएको छ। यी दुबै कुराको तयारी अन्तीम चरणमा पुगेको समेत केन्द्रीय बैंकको उच्च स्रोतले बताएको छ।

प्रविधिक विश्लेषण

शेयर बजारका प्रविधिक विश्लेषक अजित खनालका अनुसार आजको बजारले ५० दिने मुभिङ एभरेजलाई ब्रेकडाउन गर्दै त्यसको तल बन्द भएको छ। पछिल्लो समय बजारले ५० दिने मुभिङ एभरेजमा केही संघर्ष गरिरहेको थियो, तर कम कारोबार रकमका कारण बजार कमजोर देखिएको छ। यद्यपि, बजारको लागि ६१% रिट्रेसमेन्टको स्तरमा केही सकारात्मक प्रतिक्रिया आइलाग्न सक्छ भन्ने आशा गरिएको छ।

तर, अधिकांश प्राविधिक सूचकाङ्कहरू बजारमा नकारात्मक संकेत देखाउँदै छन्। यदि बजारले ६१% रिट्रेसमेन्टको स्तरलाई पनि ब्रेकडाउन ग¥यो भने बजार अझ नकरात्मक दिशामा जान सक्छ। आजको RSI ४० भन्दा तल देखिएको छ, जुन बजारको कमजोरीको संकेत हो।

थप रूपमा, आजको कारोबार रकम चैत २६ पछि सबैभन्दा कम देखिएको छ, र बजारले १२ः१० बजेपछि निरन्तर घट्ने प्रवृत्ति अपनाएको छ। १२ः१० बजे देखि ३ बजे सम्म बजारले कुनै नयाँ उच्चतम स्तर बनाएको छैन। १० ठूला ब्रोकरहरूको कारोबारमा पनि समान किनबेच देखिएको छ, जसले बजारको निस्तेज अवस्थालाई पुष्टि गर्दछ।

Related News