नेप्से परिसूचक : १३ मध्ये १२ उपसमूहमा हरियाली, लगानीकर्तामा आत्मविश्वास फर्किंदै
Author
NEPSE trading

आइतबारको बजारले नेपाली पूँजी बजारमा पुनः उत्साह ल्याएको छ। लगातार तीन दिनको गिरावटपछि आज नेप्से परिसूचक उल्लेखनीय २६.५३ अंकले वृद्धि भई २६२२.२८ विन्दुमा पुगेको छ। कारोबार रकम केही घटेर ७ अर्ब १२ करोड रुपैयाँमा सीमित भए पनि उपसमूहहरूमा देखिएको हरियालीले बजारमा सकारात्मकता देखिएको छ।
आज १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचकमा हरियाली आएको छ, जसमध्ये बैंकिङ्ग उपसमूहमा २ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। लघुवित्त, विकास बैंक र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढी वृद्धिको संकेत देखिएको छ। विपरीत, उत्पादन तथा प्रशोधन उपसमूह भने सामान्य गिरावटमा रह्यो।
व्यक्तिगत रूपमा हेर्दा, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलसम्म पुगेको छ भने विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य झण्डै ९% र माछापुच्छ्रे डिबेञ्चरको मूल्य ८% भन्दा बढीले बढेको छ। जोशी हाइड्रोपावर भने आजको सबैभन्दा ठूलो घट्ने कम्पनी रह्यो, जसको सेयर मूल्य ५.५७% ले घट्यो।
कारोबार रकमका आधारमा साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रह्यो, जसको सेयरमा ५७ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भयो। यसपछिका स्थानमा बुटवल पावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छन्।
प्रविधिक विश्लेषण: ब्रेकआउट संकेत, तर अल्पकालीन कमजोरी कायम
टेक्निकल रूपमा हेर्दा, आजको बुलिस क्यान्डलले विगतका कमजोर पोजेटिभ क्यान्डलहरूमा ब्रेक ल्याएको देखिन्छ। बिहीबारको इन्भर्टेड ह्याम्बर क्यान्डलको हाईभन्दा माथि आजको क्लोज हुनु बजार रिभर्सलको संकेत हो। तर, कारोबार रकममा देखिएको गिरावट र अन्तिम १५ मिनेटमा ३ अंकको गिरावटले बजारमा अल्पकालीन कमजोरी अझै बाँकी रहेको देखिन्छ।
विशेषगरी हाइड्रोपावर समूहको कारोबार हिस्साले ७०% बाट घटेर ६२% मा झर्दा बैंकिङ्ग, विकास बैंक र लघुवित्त उपसमूहको कारोबारमा वृद्धि देखिएको छ। बैंकिङ्ग उपसमूहको प्रदर्शन निर्णायक बन्न सक्ने अवस्थामा छ। यदि बैंक समूहमा टिकाउ मुभ देखियो भने बजार नयाँ ट्रेन्डमा प्रवेश गर्ने सम्भावना उच्च देखिन्छ।
ब्रोकर विश्लेषण: बाई-सेल एक्टिभिटीले बजारको धर्को देखायो
आजको १० ठूला ब्रोकरहरूमध्ये ६ ले बढी बाई गरेका छन् भने ४ ले बढी सेल गरेका छन्। ब्रोकर नं. ५८ ले ६४ करोडको कारोबारमा ३३ करोडको बाई र ३० करोडको सेल गरेको छ। त्यसैगरी ब्रोकर नं. ४२ ले ५६ करोडको कारोबारमा ३४.५५ करोडको बाई र २१ करोडको सेल गरेको छ। केही ब्रोकरहरूको बाई-स्प्रेड उच्च देखिएको छ, जसले बजारमा नयाँ लगानीकर्ताको प्रवेश वा इनसाइडर ट्रेन्डको संकेत दिन सक्छ।
नेप्सेमा आएको सुधारले बजारमा सकारात्मक सन्देश दिएको छ। उपसमूहको हरियाली, प्रविधिक ब्रेकआउट र ब्रोकरको बाई प्राथमिकताले बजारमा ट्रेन्ड परिवर्तनको आधार तयार गरिरहेको देखिन्छ। यद्यपि, कारोबार रकमको गिरावट र अन्तिम समयमा देखिएको कमजोरीले सावधानी पनि जरुरी रहेको देखाउँछ। बैंकिङ्ग समूहको प्रदर्शन अबको बजार ट्रेन्डको मुख्य निर्धारणकर्ता बन्नेछ।