·

NEPSE सामान्य सुधारः बजार स्थिर हुँदै, करेक्शनपछि लयमा फर्किने संकेत

Author

NEPSE TRADING

NEPSE सामान्य सुधारः बजार स्थिर हुँदै, करेक्शनपछि लयमा फर्किने संकेत

इन्ट्राडेमा ४६ अंकसम्म गिरावट देखिएको बजार अन्ततः ७.१० अंकले हरियो बन्द भयो, जसले करेक्शनपछि बजार लयमा फर्किने प्रयास गरिरहेको संकेत गर्छ । प्रविधिक रुपमा बजार हाल स्थिर देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार आठ दिनको तीव्र वृद्धिपछि नवौं दिन करेक्शन देखिएको थियो भने दशौं दिन बजारले सुधार देखाएको छ। आइतबार (साउन १२) नेप्से सूचक इन्ट्राडेमा ३०१३ विन्दुसम्म उक्लिएपनि अन्ततः १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा बन्द भएको थियो। सोमबार इन्ट्राडेमा ४६ अंकसम्म गिरावट देखिएको बजार अन्त्यमा ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा बन्द भएको छ। धेरै लगानीकर्ताले यो उतारचढावलाई सामान्य मूल्य समायोजन (प्राइस एड्जस्टमेन्ट) को रूपमा बुझेका छन्।

आइतबार र सोमबारको इन्ट्राडेमा ५० अंकभन्दा बढीको उतारचढाव देखिनुले बजारमा नाफा बुक गर्ने र पुनः लगानी गर्ने लगानीकर्ताबीचको प्रतिस्पर्धा प्रष्ट देखाएको छ। नेप्से ३ हजार अंकको मनोवैज्ञानिक प्रतिरोध पार गर्ने प्रयासमा देखिन्छ। तर, विश्लेषकहरू भन्छन्, सो स्तर पार गर्न अझै केही दिनको "कन्सोलिडेसन" आवश्यक छ। ३०००–३०५० विन्दुको प्रतिरोध पार गरेमा बजारले ३१८०–३२३० विन्दुमा अर्को प्रतिरोध सामना गर्न सक्छ। तर यदि करेक्शन आउँछ भने २७५०–२८०० विन्दु टेवा बिन्दु बन्ने अनुमान गरिएको छ।

आइतबारको कुल कारोबार रकम २६ अर्ब ५७ करोड रुपैयाँ थियो भने सोमबार घटेर १९ अर्ब ३६ करोड रुपैयाँमा झर्‍यो। कारोबार रकम घटेपनि बजार स्थिरता देखिनु आशावादी संकेत मानिन्छ। सोमबार १३ मध्ये ४ उपसमूहको सूचक बढ्दा ९ उपसमूह घटेका थिए। व्यापार उपसमूह ३.२४% ले सबैभन्दा धेरै बढ्यो भने वित्तीय र विकास बैंक उपसमूहले पनि ३% भन्दा बढी वृद्धिदर देखाए।

हाल बजार वृद्धिको पछाडि मौद्रिक नीति, वित्तीय संस्थामा प्रशस्त तरलता, घट्दो कर्जाको ब्याजदर लगायत कारणले सकारात्मक वातावरण बनेको हो। राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार १५०% बाट घटाएर १००% बनाएको छ। धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पु-याइएको छ। सिडी रेसियो ७५% मा झरेको छ। साथै, बैंकिङ प्रणालीमा ९ खर्ब रुपैयाँभन्दा बढीको लगानीयोग्य रकम उपलब्ध छ। अहिले कर्जाको ब्याजदर ८% भन्दा कममा झरेको छ, जसले शेयर बजारतर्फ लगानी प्रवाह बढाएको छ।

मौद्रिक नीतिले कर्जा प्रवाह सहज बनाइदिएपछि शेयर कर्जा लिने लगानीकर्तालाई प्रत्यक्ष फाइदा पुगेको छ। बजारको चाल हेर्दा अल्पकालीन करेक्शन सम्भव भएपनि दीर्घकालीन ट्रेन्ड अझै बुलिस नै देखिन्छ। नयाँ लगानीकर्ताको प्रवेश, मौद्रिक नीतिको सहजता, बैंकको कर्जा प्रवाहमा सुधार, ब्याजदरको गिरावट आदिले बजारलाई सकारात्मक दिशामा लैजाँदैछ।

यस दिन समता घरेलु लघुवित्तको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ। सान्भि इनर्जी र ट्रेड टावर १०% ले बढेका छन् भने विन्ध्यबासिनी हाइड्रोपावर १०% ले घटेको छ, जसले बजारमा जोखिम पक्ष पनि देखाएको छ। उच्च कारोबार गर्ने कम्पनीहरूमा शिवम् सिमेन्ट्स (९२ करोड ५७ लाख), हिमालयन डिस्टिलरी (७७ करोड), र ङादी ग्रुप पावर (५८ करोड) रहेका छन्।

फण्डामेन्टल विश्लेषकहरूले बजारमा देखिएको यो करेक्शनलाई "स्वस्थ सुधार" मानेका छन्। समग्र बजार प्रवृत्ति अझै पनि उकालो देखिन्छ, तर लगानीकर्ताले मूल्यको उतारचढाव बुझेर सतर्कतापूर्वक निर्णय लिनुपर्ने सुझाव दिइएको छ। नीतिगत समर्थन, ब्याजदरको गिरावट, तरलता अवस्था र लगानीकर्ताको आत्मविश्वासले दीर्घकालीन बजारलाई बलियो बनाउने संकेत देखिएको छ।

अब हेरौं प्रविधिक विश्लेषणतर्फ:

इन्ट्राडेमा बजारले आज निकै उतारचढाव देखायो। सुरुवातमा बजार १२ मिनेटमै २९४५ सम्म झर्‍यो। ११:२१ मा बजारमा ९ अंकको सुधार देखियो। त्यसपछि निरन्तर सेलीङ प्रेसर देखिँदा १२:३० बजेसम्म बजार २९१८ सम्म झर्‍यो। त्यसपछि बजार निरन्तर उकालो लाग्दै लगभग २ बजे सम्म बढ्यो। अन्तिममा करेक्शन आए पनि बजार १२ अंकले हरियो बन्द भयो। तर, १५ मिनेटको भोल्युम एभरेज विधिले बजारलाई ७ अंक मात्र बढेको देखाएको छ।

विश्लेषकहरूका अनुसार आजको सेलीङ प्रेसर मुख्यतः रीटेलर लगानीकर्ताबाट आएको थियो। दिउँसो २ बजेपछि बैंकिङ र हाइड्रो उपसमूहले बजारलाई बलियो टेवा दिएको देखियो। कारोबारको हिस्सा हेर्दा अपेक्षा विपरीत विकास बैंक उपसमूहको हिस्सा उल्लेखनीय १६% पुगेको छ, जसले दोस्रो स्थान ओगटेको छ।

अब लगानीकर्ताले मंगलबारको बजार चाल हेरेर निर्णय लिनुपर्ने सल्लाह विश्लेषकले दिएका छन्।

अब हेऔं ब्रोकर्सको विश्लेषण:

आजको बजारमा शीर्ष १० ब्रोकरमध्ये ५ ले तुलनात्मक रूपमा बढी शेयर किन्दा ५ ले बढी बिक्री गरेका छन्।

  • ब्रोकर नम्बर ५८ ले १ अर्ब बराबरको शेयर बिक्री गर्दा १ अर्ब २० करोडको शेयर खरीद गरेका छन्।

  • ब्रोकर ३४ र ४२ ले बढी बिक्री गरेको देखिन्छ।

  • ब्रोकर ४५ र ४९ भने खरीदमै सक्रिय देखिएका छन्।

ब्रोकर ५८ बाट आज केपीसीएल का १ लाख ८ हजार कित्ता शेयर खरीद गरिएका छन् भने एसबीएल का १ लाख कित्ता शेयर ब्रोकर ५६ बाट बाई भएको छ।
त्यस्तै, आज सर्किट हानेको समता माइक्रो को ८१ हजार कित्ता शेयर ब्रोकर ४८ ले उठाएको देखिएको छ।

Related News