नेप्सेमा तीन दिनमा १४३ अंकको गिरावट, बजार सपोर्ट जोन नजिक, पुन: उकालो लाग्ने आशा
Author
NEPSE TRADING

नेप्सेमा पहिरो
नेप्से परिसूचक पछिल्ला तीन दिनमा १४३ अंकले ओरालो लागेको छ, जसले अल्पकालीन बजारमा दबाव सिर्जना गरेको छ। साउन १३ गते मंगलबार नेप्से ३ हजार २ विन्दु पुगेर पछिल्लो उच्चतम विन्दुमा पुगेको थियो। त्यसपछि क्रमशः बुधबार ४८ अंक, बिहीबार ३१.५ अंक र आइतबार ६३.७३ अंकले घट्दै कुल १४३ अंकको गिरावट आएको हो। यो झण्डै ५ प्रतिशतको करेक्शन हो।
३ हजारको मनोवैज्ञानिक प्रतिरोध
विश्लेषकहरूका अनुसार, ३ हजार विन्दु लामो समयदेखि एक बलियो प्रतिरोधको रूपमा रहँदै आएको छ। यो विन्दु नजिक पुग्नासाथ धेरै अल्पकालीन लगानीकर्ताले मुनाफा बुकिङ गर्न शेयर बिक्री गर्ने गर्छन्। यही कारण बजारले ३००० माथि टिक्न सकेन।
कारोबार रकम घट्दो, लगानीकर्ता सतर्क
आइतबारको दिन बजारको कारोबार रकम १३ अर्ब ७ करोड रुपैयाँमा झर्यो, जुन अघिल्लो दिनको १५.९८ अर्बको तुलनामा उल्लेखनीय गिरावट हो। लगानीकर्ताहरू बजारको प्रष्ट दिशा नआएसम्म प्रतिक्षा गर्ने रणनीतिमा देखिएका छन्।
१३ उपसमूह सबै घटे, बजारमा नकारात्मक धारणा
नेप्सेका सबै १३ वटा उपसमूहहरू आइतबार घटेका थिए। ‘अन्य’ उपसमूह ३.४८% ले घट्दा लघुवित्त ३% भन्दा बढीले घटेको छ। बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन सबै उपसमूहमा २% भन्दा बढीको गिरावट आएको छ, जसले समग्र बजार धारणा कमजोर देखाउँछ।
वित्तीय विवरण सुधारिए पनि लाभांशको आशा
चौथो त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। प्रारम्भिक विवरण अनुसार धेरै कम्पनीहरू नाफामा देखिएका छन्। नाफा, इपीएस, नेट इनकममा सुधार आएसँगै लाभांश घोषणाको लहर सुरु हुने अपेक्षा गरिएको छ।
मौद्रिक नीतिले शेयर बजारलाई प्रोत्साहन
नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक मौद्रिक नीतिमा ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र वित्तीय सुदृढीकरणका बुँदाहरू समावेश छन्, जसले शेयर बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गरेको छ।
सिजनल ट्रेन्डले पुन: उकालोको आशा
इतिहास हेर्दा साउन र भदौ शेयर बजारको लागि सिजनल बलियो महिना हुन्। भदौ २०७८ मा नेप्सेले ३२०० विन्दु पार गरेको थियो भने गत वर्षको साउनमा पनि ३००० विन्दु टेकेको थियो। यस आधारमा लगानीकर्ता बजार फेरि उकालो लाग्ने आशामा छन्।
आइतबारको दिन ट्रेड टावर र शिव श्री हाइड्रोपावर सकारात्मक सर्किटमा कारोबार भए। थ्रि स्टार हाइड्रोपावर ४.५% ले बढ्दा सान्भि इनर्जी नकारात्मक सर्किटमा झर्यो।
शीर्ष कारोबार स्टकहरू
नेपाल पुनर्बीमा कम्पनी : रु ७५.३९ करोड
हिमालयन रि इन्स्योरेन्स : रु ७१ करोड
हिमालयन डिस्टिलरी : रु ५९ करोड
प्राविधिक विश्लेषण : बजार टेवा नजिक
टेक्निकल एनालिस्टहरूका अनुसार, बजारले ३०००–३०५० विन्दुको प्रतिरोध तोड्न नसके तलतिर २७५०–२८०० विन्दुको सपोर्ट क्षेत्रमा टिक्नेछ। हाल नेप्से २८५८ विन्दुमा रहेकाले बजार टेवा नजिकै छ र यहाँबाट डेग्लअप हुने सम्भावना उच्च छ।
ब्रोकर विश्लेषण : ६ ब्रोकर सेल, ४ ब्रोकर बाई
आइतबारको बजारमा शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी सेल गरेका छन् भने ४ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी बाई गरेका छन्। यसले बजारमा मिश्रित भावना देखाउँछ।