नेप्से २८०० माथि, लाभांशको आशा र प्राविधिक ब्रेकआउटसँगै बजारमा उत्साह
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार बलियो उकालो लागेको छ। सूचीकृत कम्पनीहरूले आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सम्भावित लाभांशबारे लगानीकर्ताले आकलन गर्न थालेसँगै बजारमा लगातार तीन दिनदेखि सुधार भएको हो। बुधबार मात्र नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ। करिब ११ कारोबार दिनपछि नेप्से फेरि २८०० विन्दुभन्दा माथि उक्लन सफल भएको हो।
कारोबार रकममा ठूलो उछाल
मंगलबारको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबारसँगै बुधबार बजारमा कारोबार रकम ७ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ। यस दिन १३ वटै उपसमूह हरित बने, जसमध्ये विकास बैंक उपसमूह ३.४० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो।
लाभांशको अपेक्षा र कम्पनीको नाफा
सार्वजनिक भएका वित्तीय विवरणअनुसार धेरैजसो कम्पनीको नाफा बढेको छ। यससँगै लाभांश वितरण गर्ने क्षमता पनि स्पष्ट हुन थालेको छ। कतिपय म्युचुअल फण्डहरूले गत वर्षको प्रतिफलसमेत घोषणा गरिसकेका छन्। विशेषगरी, बैंकहरूको रिकभरी मजबुत रहेकाले नाफा बढेको र लाभांश क्षमता अझ बलियो भएको देखिन्छ।
लघुवित्त र राष्ट्र बैंकको व्यवस्था
अधिकांश लघुवित्तीय संस्थाले पनि सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको नयाँ व्यवस्थाअनुसार लघुवित्तहरूले आफ्नो पुँजीकोष र खराब कर्जाको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन्। यसले लगानीकर्ताको अनिश्चितता हटाएको छ।
जलविद्युत् र अन्य कम्पनीको प्रभाव
ब्याजदर न्यून भएकाले जलविद्युत् कम्पनीहरूको नाफा बढेको छ। त्यस्तै, संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिन नम्बर दिने विषयले केही समय बजारमा दबाब बढाए पनि धितोपत्र बोर्डले त्यसलाई समाधान गर्ने पहल गरेसँगै बजारमा सकारात्मक सन्देश गएको छ।
नीति र तरलताको सहयोग
वर्तमान मौद्रिक र वित्तीय नीति दुवै बजारमैत्री देखिएका छन्। बैंकहरूले सेयर धितो कर्जा बढाएका छन् भने राष्ट्र बैंकले सीमा बढाउँदै जोखिमभार घटाएको छ। गत वर्ष मात्र बैंक तथा वित्तीय संस्थाले ५० अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका थिए। यस वर्ष अझै बढ्ने अनुमान गरिएको छ।
करिब डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थामा तरलता प्रचुर छ। यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले हप्तामा दुई दिन नियमित रूपमा निक्षेप संकलन गरिरहेको छ। बैंकहरूले ऋणी खोज्दै हिँड्नु परेको अवस्था देखिनु पनि बजारप्रति सकारात्मक सङ्केत भएको छ।
बजारका प्रमुख चलायमान सेयर
बुधबार विकास हाइड्रोपावर फेरि पनि सकारात्मक सर्किटमा कारोबार भयो। समता लघुवित्त करिब ९ प्रतिशत बढ्यो भने ग्रीन भेन्चर्स ८ प्रतिशतभन्दा बढीले उक्लियो। तर, केबिएल डिबेञ्चर २०८६ भने ५.७९ प्रतिशतले घट्यो।
कारोबार रकममा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको कारोबार ६५ करोड रुपैयाँ नाघ्यो। नेपाल पुनर्बीमा कम्पनी ५५ करोड र ग्रीन भेन्चर्स ४६ करोड रुपैयाँभन्दा बढीमा कारोबार भए।
प्राविधिक विश्लेषण : तीन प्रतिरोध भत्काउँदै बजार माथि
प्राविधिक विश्लेषक अजित खनालका अनुसार बजारले मंगलबार बनेको इनभर्टेड ह्याम्बर क्यान्डलको उच्चलाई तोड्दै बुधबार बलियो बुलिस माराबोजु क्यान्डल बनाएको छ।
यस दिन नेप्सेले एकैसाथ ५० दिनको मूभिङ एभरेज (50MA), ५०% फिबोनाची रिट्रेसमेन्ट र बोलिन्जर ब्यान्डको मिडल लाइन तीनवटै महत्वपूर्ण अवरोधलाई पार गरेर बन्द भएको हो। यी प्रतिरोधहरू हटेपछि बजार अझै माथि चढ्ने सम्भावना बलियो भएको प्राविधिक विश्लेषकहरूको भनाइ छ।
खनालका अनुसार बजारले अघिल्लो दिन दिएको वन क्यान्डल बाई संकेतलाई सम्मान गरेको देखिन्छ।
ब्रोकर विश्लेषण : ठूला खेलाडीको सक्रियता
ठूला १० ब्रोकरमध्ये ६ वटाले बढी किनबेच (Buy) गरेका छन् भने ४ वटाले बढी बिक्री (Sell) गरेका छन्।
ब्रोकर नं. ५८, ४५, ४२, ४८, ३५ र ३८ खरिदतर्फ सक्रिय देखिए भने ३४, ४९, ४४ र ५७ बिक्रीतर्फ सक्रिय देखिए।
ब्रोकर ५८ बाट मात्रै लगानीकर्ताले :
जीभीएल (ग्रीन भेन्चर्स): ५ लाख ५७ हजार कित्ता खरिद, एभरेज मूल्य ५७०
एचपीपीएल: १ लाख १७ हजार कित्ता
एलईसी: १ लाख ४ हजार कित्ता
तर सोही ब्रोकरबाट जीभीएल ६ लाख ३७ हजार कित्ता बिक्री भएको छ।
यता, नेप्से ट्रेडिङको एआई ट्राफिक लाइट सिस्टमले मंगलबार नै हरियो सङ्केत (Buy Signal) दिएको थियो, जुन बजारले बुधबार पुष्टि गरिदिएको छ।