सेबोनले ब्रोकर कोल्याट्रल हटाउने तयारी गरेको भनी फैलिएको खबर असत्य : रोहन कार्की
Author
NEPSE trading

ब्रोकर कम्पनीहरुको कोल्याट्रल हटाउने तयारी भइरहेको भन्दै केही अनलाइन माध्यममा प्रकाशित भएको समाचारप्रति आम लगानीकर्ताले गम्भीर आपत्ति जनाएका छन् ।
लगानीकर्ता रोहन कार्कीले फेसबुकमार्फत सेबोनकै अध्यक्षसँग प्रत्यक्ष कुराकानी गरेर सो खबर झुटो र भ्रामक भएको पुष्टि गरेका छन् । अध्यक्ष ज्युको भनाइ उद्धृत गर्दै कार्कीले सेबोनले बरु लगानीकर्तालाई शेयर किन्न सहज होस् भनेर मार्जिन कारोबारलाई प्रवर्द्धन गर्न लागेको बताए ।
उनका अनुसार सेबोनले बजार बिगार्ने कुनै योजना बनाएको छैन, बरु अझ सहज र सुरक्षित बनाएर लगानीकर्तालाई फाइदा पुग्ने नीतिमा लागेको छ । उनले सेबोन अध्यक्षको भनाइ अनुसार "सुविधा हटाएर बजार बिगार्ने कुरा सोच्न पनि नसकिने" बताए ।
कार्कीले सम्पूर्ण लगानीकर्तालाई त्यस्ता झुटा समाचारप्रति भ्रममा नपर्न र सतर्क रहन आग्रह गरेका छन् । साथै, नेपाली जनताको खरबौंको लगानी रहेको संवेदनशील पूँजीबजारमा डर र भ्रम फैलाउने कपोलकल्पित समाचार प्रकाशित नगर्न अनलाइन मिडियाहरुलाई चेतावनीसमेत दिएका छन् ।