बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले बाह्य विज्ञको संयोजकत्वमा सुझाव उपसमिति गठन
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले पहिलोपटक बाह्य विज्ञको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधारका लागि ३ सदस्यीय सुझाव उपसमिति गठन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो।
उक्त उपसमितिको संयोजकमा धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा पूर्वनिर्देशक डा. रेवतबहादुर कार्की रहेका छन्। समितिमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य सचिव तोकिएका छन्।
उपसमितिलाई बैंकिङ क्षेत्रको वर्तमान अवस्था, संरचना, जोखिम व्यवस्थापन, नियमन प्रणाली तथा दीर्घकालीन सुधार उपायहरूबारे अध्ययन गरी ३० दिनभित्र सुझाव पेश गर्न समयसीमा तोकिएको छ।
राष्ट्र बैंकले यसअघि आफ्नै आन्तरिक संयन्त्रबाट बैंकिङ क्षेत्र सुधारको पहल गर्दै आएकोमा, पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा उपसमिति गठन गरेर सुझाव माग्नु ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
राष्ट्र बैंकले बैंकहरूको अनुमति, नियमन, सुपरिवेक्षण तथा सुधारको जिम्मेवारी आफ्नै स्थापनाकालदेखि सम्हाल्दै आएको दाबी गर्दै आएको छ। नयाँ उपसमितिको गठनसँगै अब बैंकिङ सुधारका नीति तथा कार्ययोजनामा ताजा दृष्टिकोण समावेश हुने अपेक्षा गरिएको छ।