·

नेपाल राष्ट्र बैंक गभर्नरले उद्योगी व्यवसायी र बैंकर्ससँग छलफल

Author

NEPSE TRADING

नेपाल राष्ट्र बैंक गभर्नरले उद्योगी व्यवसायी र बैंकर्ससँग छलफल

जेन–जी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिबारे नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशैभर बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान, होटल तथा निजी घर–व्यवसायमा तोडफोड र आगजनी हुँदा अरबौंको क्षति भएको छ। प्रारम्भिक तथ्यांकअनुसार दुई दर्जन होटलमा क्षति पुग्दा करिब २५ अर्ब रुपैयाँ नोक्सानी भएको छ भने दुई हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।

त्यसैगरी, थापाथलीस्थित विभिन्न गाडीका शोरुमहरूमा आगजनी हुँदा अरबौंको सम्पत्ति नोक्सानी भएको छ। निजी घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म ध्वस्त हुँदा बीमा कम्पनीहरूमा ठूलो दाबी पर्ने अनुमान गरिएको छ।

देशभर फैलिएका भाटभटेनी सुपरमार्केटका आउटलेटहरूमा तोडफोड, चोरी र आगजनी हुँदा ठूलो आर्थिक नोक्सानी भएको छ। सो घटनाले हजारौं कर्मचारी बेरोजगार भएका छन्।

गभर्नर पौडेलले भएको क्षति, यसको बैंक तथा वित्तीय क्षेत्र र निजी उद्योगमाथि परेको असरबारे छलफल गर्दै समस्याको समाधानका उपाय खोज्न व्यवसायी र बैंकर्सलाई सुझाव दिएका छन्।

Related News