राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी
Author
Nepse Trading

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले मौद्रिक नियन्त्रणका लागि यस्तो कदम चालेको हो।
राष्ट्र बैंकले निक्षेप संकलनका लागि ६३ दिनको अवधिका लागि बोलकबोलको माध्यमबाट रकम उठाउने जनाएको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोडको गुणनफलमा भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते तोकिएको छ।
बोलकबोल प्रणाली अन्तर्गत ब्याजदर पनि प्रतिस्पर्धात्मक ढंगले निर्धारण हुनेछ। राष्ट्र बैंकले बहु ब्याजदरका प्रस्ताव पनि स्वीकार गर्ने जनाएको छ। यस प्रक्रियामा 'क', 'ख' र 'ग' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
निक्षेप संकलनका लागि बैंकहरूले प्रस्तावित रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। बोलकबोलमा प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः बाँडफाँट गर्नेछ।
यो कदमले हालको अतिरिक्त तरलता नियन्त्रण गर्न र मौद्रिक स्थायित्वमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।