·

मौद्रिक नीति समीक्षा : संशोधन गरिएका ६ नीति

Author

NEPSE trading

मौद्रिक नीति समीक्षा : संशोधन गरिएका ६ नीति

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा आइतबार सार्वजनिक गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो। समीक्षामा समावेश छ वटा प्रमुख बुँदामा बैंकिङ, कर्जा, लगानी र विदेशी विनिमय नीतिसम्बन्धी महत्वपूर्ण विषय उल्लेख छन्।

राष्ट्र बैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थितिलाई मध्यनजर गर्दै मौद्रिक नीतिको कार्यदिशालाई सावधानीपूर्वक सन्तुलित बनाइएको जनाएको छ। नीति दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दर ६.५ प्रतिशतमा यथावत राखिएको छ। त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात पनि यथावत राखिएको छ। अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ९० प्रतिशत दैनिक नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरिनेछ।

समीक्षाको सबैभन्दा सकारात्मक पक्ष भनेको शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याइनु हो। यसले शेयर बजारमा मनोवैज्ञानिक रूपमा उत्साह थप्ने अनुमान गरिएको छ।

त्यस्तै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएका संशोधनका प्रावधानहरूलाई समेट्दै “विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ।

अन्तिम बुँदामा भने, ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गत चेक बाउन्ससम्बन्धी प्रमाणिकरण प्रक्रिया स्पष्ट पार्ने नयाँ कार्यविधि राष्ट्र बैंकले तर्जुमा गरी चाँडै लागू गर्ने बताइएको छ।

यस समीक्षाले बैंकिङ प्रणालीको स्थायित्व, शेयर बजारमा लगानीमैत्री वातावरण, र विदेशी लगानीको स्पष्टता बढाउने दिशा तर्फ सशक्त सन्देश दिएको अर्थविद्हरूको प्रतिक्रिया छ।

Related News