राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने, बैंकहरूलाई लगानी योग्य पुँजी व्यवस्थापनमा दबाब
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्न बुधबारका लागि निक्षेप संकलनको आव्हान गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता जमाअ भएका कारण केन्द्रीय बैंकले २१ दिनका लागि यो कदम चाल्न लागेको हो।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेपको मात्रा लगातार बढिरहेको छ, तर सो अनुपातमा कर्जा प्रवाह हुन नसक्दा लगानी योग्य पुँजी थुप्रिएको देखिएको छ। यही पृष्ठभूमिमा राष्ट्र बैंकले सातामा दुई दिनसम्म निक्षेप संकलन प्रक्रिया अघि बढाइरहेको छ।
आजको बोलकबोल प्रक्रिया ब्याजदरको आधारमा हुनेछ। सहभागी संस्थाहरूले आफूले जम्मा गर्न चाहेको रकम र सोको ब्याजदर दशमलव पछाडि चार अंकसम्म स्पष्ट उल्लेख गर्नुपर्नेछ। बोलकबोलमा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई रकम बाँडफाँड गरिनेछ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। स्वीकृत बोलपत्रअनुसार निक्षेप रकम सम्बन्धित काउण्टर पार्टीको खाताबाट खर्च गरी अलग्गै खाता खोली संकलन गरिनेछ।
यदि उपकरण निष्काशनको दिनमा खातामा पर्याप्त मौज्दात नभएमा उक्त काउण्टर पार्टीलाई कालोसूचीमा राखी भविष्यका बोलकबोलमा सहभागी हुन निषेध गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बैंकिङ क्षेत्रमा तरलता सन्तुलन कायम गर्न राष्ट्र बैंकको यो कदमलाई एक महत्वपूर्ण मौद्रिक उपकरणको रूपमा हेरिएको छ।