·

बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल

Author

NEPSE TRADING

बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल

बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार (असार ८ गते) ६० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमार्फत ४२ दिनका लागि निक्षेप संकलन बोलकबोल प्रक्रियाबाट सो रकम संकलन गरिनेछ ।

यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदरको आधारमा पनि बहुबोलकबोल गर्न सकिनेछ । आवेदन दिने क्रममा संस्थाले निक्षेपको रकम र ब्याजदर (दशमलव पछाडिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।

बोलकबोलका लागि आवेदन राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत आज अपरान्ह ३ बजेभित्र दिइसक्नुपर्नेछ ।

न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरेर ५ करोडको गुणात्मक वृद्धिमा आवेदन दिन सकिने व्यवस्था छ, जसअन्तर्गत निःशेष भागसहित पूर्ण रकमका लागि पनि आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले प्राप्त आवेदनको आधारमा ६० अर्ब रुपैयाँसम्म, वा सोभन्दा बढी वा कम रकम समेत संकलन गर्ने अधिकार राखेको छ ।

Related News