Over 1.4 Million Shares Up for Sale Of NIC Asia Bank
Author
Nepse trading

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता सेयर बिक्रीमा राखेको छ। यो लिलामी आज चैत ३ गतेबाट सुरु भएको हो। बिक्रीमा राखिएको सेयरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता समावेश छ। यी सेयरको न्यूनतम मूल्य क्रमशः १०५, ५४०, २६९, १५९ र ६९६ रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा त्यसभन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ। बोलपत्र पेस गर्ने ठाउँमा एनआईसी एसिया क्यापिटलको थापाथली कार्यालय, बैंकको कर्पोरेट कार्यालय वा काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरका शाखाहरु समावेश छन्। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १० गतेसम्म तोकिएको छ। योग्य लगानीकर्ताले आफूले चाहेको शेयर संख्या खुलाएर सम्पूर्ण सेयरका लागि समेत आवेदन दिन सक्नेछन्।