सीपीईसी अफगानिस्तानसम्म विस्तार गर्न पाकिस्तान, चीन र अफगानिस्तान सहमत
Author
NEPSE trading

पाकिस्तान, चीन र अफगानिस्तानबीच चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा सहमति जुटेको छ।
पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार सीपीईसी विस्तारसम्बन्धी यो घोषणा पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपश्चात् सार्वजनिक गरिएको हो।
इशाक दार तीन दिने चीन भ्रमणमा छन् । यो भ्रमण भारतले पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा आतंकवादी आधार शिविरहरूलाई लक्षित गरी ‘अपरेशन वर्मिलियन’ सुरु गरेपछि भएको पहिलो उच्चस्तरीय कूटनीतिक बैठक हो। बैठकपछि सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै दारले भने, "पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि एक साथ उभिएका छन्।"
उनले तीन नेताहरू सँगको तस्बिर पनि साझा गरेका छन्। उनले भने, "हामी कूटनीतिक संवादलाई बढाउने, सञ्चार सुदृढ बनाउने र व्यापार, पूर्वाधार तथा विकासलाई साझा समृद्धिको माध्यम बनाउने व्यावहारिक उपायहरूमा छलफल गरिरहेका छौं।"
विज्ञप्तिमा तीन देश ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) को सहकार्य अझ सशक्त बनाउने र सीपीईसी परियोजनालाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा सहमत भएको उल्लेख छ। तर, भारतले भने पाकिस्तान प्रशासित कश्मीर हुँदै निर्माण भइरहेको ६० अर्ब अमेरिकी डलरको सीपीईसीको तीव्र विरोध गर्दै आएको छ।
यसैबीच, विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैठौं त्रिपक्षीय बैठक चाँडै नै आपसी सहमतिमा काबुलमा आयोजना गर्ने सहमति पनि उल्लेख गरिएको छ।