·

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा जोड दिदै स्पेनमा प्रधानमन्त्री ओलीको सम्बोधन

Author

NEPSE trading

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा जोड दिदै स्पेनमा प्रधानमन्त्री ओलीको सम्बोधन

स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकता औंल्याएका छन्।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउन स्पेन गएका प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रहरूले वित्तीय लगानी सुनिश्चित गर्न आफ्ना प्रतिबद्धता पूरा गर्नु जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले विकास सहयोग, ऋण दिगोपना तथा वित्तीय संरचनामा सुधारका लागि अझै पूरा नभएका एजेन्डाहरूमा नागरिक समाजले सक्रिय रुपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “तपाईंहरू केवल सहभागी होइन, परिवर्तनका उत्प्रेरक पनि हो। तपाईंहरूको आवाजले ठोस परिणाम ल्याउन सक्छ।” उनले नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्यमा विश्वास राख्दै समावेशी र समानुपातिक आधारमा विश्वव्यापी लगानीको पैरवी गरिरहेको बताए।

कार्यक्रममा स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई रोजगारी सिर्जना, समावेशी वृद्धि र स्रोत परिचालनमा लगाउन सबै पक्षको साझा दायित्व रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले कसैलाई पछाडि नपार्ने, समतामूलक र दिगो भविष्य निर्माणका लागि नागरिक समाजले अग्रसर भई साझा दायित्व वहन गर्नुपर्नेमा जोड दिए।

सो सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ले आधिकारिक रूपमा स्वीकार गर्नेछ।

Related News