·

निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्यो

Author

NEPSE TRADING

निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत (रु. ४२३ अर्ब ७३ करोड) ले बढेको छ। अघिल्लो वर्ष यस किसिमको कर्जा वृद्धि ५.८ प्रतिशत (रु. २७६ अर्ब ९४ करोड) मात्र थियो।

समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रमा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा ३७.२ प्रतिशत कर्जा पुगेको छ। अघिल्लो वर्ष यी अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेका थिए।

क्षेत्रगत हिसाबले, वाणिज्य बैंकहरूले कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूले ६.१ प्रतिशतले र वित्त कम्पनीहरूले ८.४ प्रतिशतले बढाएका छन्।

२०८२ असार मसान्तसम्म कर्जा लगानीको संरचनामा ६४.७ प्रतिशत कर्जा घर-जग्गा धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) धितोमा प्रवाह भएको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः ६६.५ प्रतिशत र १३.२ प्रतिशत थियो।

उद्योगगत आधारमा हेर्दा, औद्योगिक उत्पादन क्षेत्रतर्फ कर्जा ७९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १५.५ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ३.४ प्रतिशत र सेवा उद्योग क्षेत्रमा १२.८ प्रतिशत बढेको छ। तर, कृषि क्षेत्रमा कर्जा ०.२ प्रतिशतले घटेको छ।

त्यस्तै, कर्जाका स्वरूपमा हेर्दा, आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ। तर, ओभरड्राफ्ट कर्जा भने १०.४ प्रतिशतले घटेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार, कृषि क्षेत्रमा कर्जा प्रवाह घट्नु चिन्ताको विषय बनेको छ भने औद्योगिक र उत्पादनशील क्षेत्रमा कर्जा वृद्धिले दीर्घकालीन अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Related News