लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागू
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रक्रियामा कडाइ गर्दै आठ बुँदे नयाँ मापदण्ड सार्वजनिक गरेको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको हालै सम्पन्न बैठकले विगतको नीतिगत व्यवस्थालाई संशोधन गर्दै लगानी कम्पनीहरूलाई आईपीओ अनुमति दिने क्रममा थप सर्तहरू अनिवार्य बनाएको हो।
बोर्डले अबदेखि लगानी कम्पनीले निम्न मापदण्डहरू पूरा गरेपछि मात्र आईपीओ जारी गर्न पाउनेछ:
१. कम्तीमा ३ वर्षदेखि सञ्चालनमा रहेको र पछिल्ला दुई आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने।
२. कम्पनीको प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी भएको हुनुपर्ने।
३. कम्पनीले केवल ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन, सूचना प्रविधि र खनिज उत्खनन क्षेत्रका संस्थाको धितोपत्रमा मात्र लगानी गर्न पाउने।
४. दोस्रो बजार वा अन्य संस्थापक शेयरमा लगानी गर्न नपाउने, तर योग्य संस्थागत लगानीकर्ता भएर बुक बिल्डिङ प्रणालीको आईपीओमा मात्र सहभागी हुन सक्ने।
५. यस्तो लगानी कम्पनी ती सीमित क्षेत्रका संस्थामै मात्र लगानी गर्ने उद्देश्यले स्थापना भएको हुनुपर्ने।
६. कम्पनीले न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङ प्राप्त गरेको हुनुपर्ने।
७. चुक्तापुँजी कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने।
८. नेपाल सरकारले संस्थापक रहेको वा वैदेशिक लगानीमार्फत स्थापना भई प्राविधिक प्रक्रिया पूरा गरेको कम्पनी हुनुपर्ने।
बोर्डको यो निर्णय लगानीकर्ताको हित संरक्षण गर्ने र पूँजी बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले ल्याइएको बताइएको छ। यसले अब अयोग्य कम्पनीहरूलाई आईपीओमार्फत सर्वसाधारणबाट लगानी संकलन गर्न बाटो खुला नहुने सुनिश्चित गर्छ।