बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहस
Author
NEPSE trading

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रस्तावित संशोधनले नेपाली पूँजी बजारमा बहस र अन्योलता थपिदिएको छ। प्रस्तावित विधेयकमा बैंक तथा व्यवसायीलाई छुट्याउने व्यवस्था राखिएको छ, जसअनुसार बैंकमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व राख्ने व्यक्तिहरूले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ।
यस प्रावधानले व्यवसायीहरूलाई बैंकिङ्ग लगानीबाट टाढा राख्ने नीति लिएको देखिन्छ। सामाजिक सञ्जालमा यस विषयमा व्यापक प्रतिक्रिया आएका छन्। केहि विश्लेषकहरूले यसलाई सकारात्मक कदम भनेका छन् भने अन्यले यसले दोस्रो बजारमा नकारात्मक असर पार्ने तर्क गरेका छन्।
शेयर बजारमा देखिएको प्रतिक्रिया:
शिव चन्द्रले फेसबुकमा लेखेका छन्, “बैंक र व्यवसायी छुट्याउने विषयले बजार नै रंगिएको छ। यसो हो भने बैंकले पनि व्यवसाय गर्न पाउने भन्नु कस्तो?”
रोहन कार्कीले भने, “बैंक र व्यवसायी छुट्याउने विषयलाई ठीकसँग विश्लेषण नगरी बजारमा त्रास फैलाउने कार्य भइरहेको छ। संस्थापक शेयर बिक्री गर्न नपाउने र मूल्य घटाउने प्रवृत्तिले बजारमै अन्योल ल्याएको छ।”
राजु शर्मा पौडेलका अनुसार, विधेयकमा बैंकको लगानी क्षेत्र, मापदण्ड तथा डिजिटल मुद्रा लगायतका ३० वटा संशोधन प्रस्ताव गरिएको छ।
अजित खनालले भने, “बाफियाको प्रस्ताव व्यवसायीलाई बैंकमा लगानी गर्न नदिने भन्ने हो भने धेरै ठूलो व्यवसायीहरूको बैंकबाट हात झिक्ने अवस्था आउन सक्छ।”
केशव कोइरालाले बाफियालाई ‘आतंक’ भन्दै यसले दोस्रो बजारमा सामान्य कारोवार गर्न समेत अवरोध पुर्याउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा ‘शेयर मार्केट’ नामक पेजमा लेखिएको छ – “बाफिया को त्रास बाफ रे बाफ, बुझेको केही छैन लहे लहे मा किता गुमाउँदै साना लगानीकर्ता।” यसले देखाउँछ कि साना लगानीकर्ता अहिले अन्योलमा परेका छन् र सही जानकारीको खाँचो छ।
हालको अवस्थामा बाफिया संशोधन प्रस्ताव संसदमा प्रस्तुत भइसकेको छैन, तर यसको मस्यौदा तयार भइसकेको छ। यदि पारित भयो भने, बैंक र व्यवसायबीचको सम्बन्धलाई स्पष्ट रूपले अलग गर्ने, सेयर स्वामित्व सीमित गर्ने र डिजिटल सम्पत्ति नियमन गर्ने जस्ता नयाँ नीति लागू हुने सम्भावना छ। तर यसको कार्यान्वयनले शेयर बजारमा सकारात्मक भन्दा पनि अल्पकालीन नकारात्मक असर पार्ने सम्भावना देखिएको छ।
यो संशोधनले बैंक तथा वित्तीय क्षेत्रको पारदर्शिता र सुदृढीकरण गर्न सक्ने देखिए तापनि शेयर बजारमा तत्काल अस्थिरता ल्याउन सक्छ। तसर्थ, नीति निर्माता र सांसदहरूले यस विषयलाई गम्भीरताका साथ बहस गरी सन्तुलित निर्णय लिन आवश्यक देखिन्छ।