सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्च
Author
NEPSE trading

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा २१३.८१ प्रतिशतले बढेको जनाएको छ। बैंकले यस अवधिमा ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्ष १३ करोड १८ लाख रुपैयाँ थियो।
खुद नाफा भने ६.५१% ले मात्रै बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा खुद ब्याज आम्दानी १.३६% ले घटेको भए पनि फी तथा कमिशन आम्दानी ९.१५% ले बढेको छ। कुल सञ्चालन आम्दानीमा ३.३९% वृद्धि भएको छ भने सञ्चालन मुनाफा १०.०६% ले बढेको देखिन्छ।
बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी (DP EPS) ११ रुपैयाँ ६४ पैसामा पुगेको छ भने प्रतिशेयर आम्दानी (EPS) १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा पुगेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।