·

शिव श्री हाइड्रोपावरले भदौ १९ देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Author

NEPSE TRADING

शिव श्री हाइड्रोपावरले भदौ १९ देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर बिक्रीमा ल्याउँदैछ। यस अन्तर्गत १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी गरिनेछ।

यसको लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरिसकेको छ, जसअनुसार साउन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन असोज ८ गतेसम्म दिन सकिनेछ। हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी माइनस’ रेटिङ्ग दिएको छ, जसले उच्च जोखिम संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा कार्यालयहरू, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सी–आस्बा सेवा तथा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रहेको छ, जुन निष्काशनपछि बढेर २ अर्ब ९५ करोड २८ लाख पुग्नेछ। संकलन भएको रकम कम्पनीले बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

Related News