·

निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरण

Author

NEPSE TRADING

निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरण

चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक गतिविधिमा सुधार आएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा गत वर्षको तुलनामा दोब्बरभन्दा बढी पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा निजी क्षेत्रतर्फ कूल ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो। यसरी हेर्दा चालु वर्षको कर्जा प्रवाह उल्लेखनीयरूपमा वृद्धि भएको छ।

वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ। कर्जाको गन्तव्य अनुसार ६३ प्रतिशत कर्जा गैरवित्तीय संस्थागत क्षेत्र (जस्तै व्यवसाय, उद्योग) मा प्रवाहित भएको छ भने बाँकी ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवारतर्फ गएको छ। अघिल्लो वर्ष क्रमशः ६३.५ र ३६.५ प्रतिशतको हिस्सा थियो।

वित्तीय संस्थाहरू अनुसार कर्जा प्रवाहमा वाणिज्य बैंकको हिस्सा ८.४ प्रतिशतले बढेको छ। विकास बैंकबाट ४.७ प्रतिशत र वित्त कम्पनीहरूले ६.९ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्।

उद्योग तथा सेवा क्षेत्रतर्फ प्रवाहित कर्जा पनि उच्च रहेको छ। औद्योगिक उत्पादन क्षेत्रमा ८.२ प्रतिशत, निर्माण क्षेत्रमा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १३.५ प्रतिशत, सेवा उद्योगमा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रमा १०.९ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको देखिन्छ।

कर्जाको सुरक्षाको हिसाबले हेर्दा, चालु सम्पत्तिमा आधारित कर्जा १४.५ प्रतिशत छ भने घरजग्गा धितोमा आधारित कर्जा ६५ प्रतिशत पुगेको छ।

त्यस्तै, कर्जाको प्रकृतिका आधारमा आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन कर्जा ४२.८ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ६२.२ प्रतिशत, हायर पर्चेज कर्जा ५.५ प्रतिशत, नगद प्रवाह कर्जा ०.६ प्रतिशत तथा रियल स्टेट कर्जा (व्यक्तिगत आवास कर्जासहित) ५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

यसले अर्थतन्त्रमा सुधारको संकेत दिँदै आर्थिक चक्रलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

Related News