·

सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्यो

Author

NEPSE TRADING

सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्यो

सोलु हाइड्रोपावर लिमिटेडले आज मंसिर ७ गते, २०८२ देखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ बाँडफाँड खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयहरूका लागि १ करोड कित्ता शेयर र वैदेशिक रोजगारमा रहेका नेपालीहरूमुखि १० लाख कित्ता शेयर सार्वजनिक जारी गरेको छ।
स्थानीयका लागि जारी गरिएको आईपीओ मंसिर ७ गतेदेखि मंसिर २१ गतेसम्म खुला रहनेछ भने आवश्यकताअनुसार पुस ७ गतेसम्म अवधि थपिन सक्छ।
यस्तै, वैदेशिक रोजगारिय नेपालीका लागि जारी भएको आईपीओ मंसिर ७ देखि मंसिर १० गतेसम्म खुला रहनेछ। यदि उक्त अवधिमा पूरा नबिकेमा मंसिर २१ गतेसम्म विस्तार गर्न सकिनेछ।

सोलु हाइड्रोपावरको जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ। सोको २० प्रतिशत अर्थात् २ करोड कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
यसमा १० प्रतिशत अर्थात् १ करोड कित्ता (१ अर्ब रुपैयाँ बराबर) आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयका लागि छुट्याइएको छ।
बाँकी १० प्रतिशत अर्थात् १ करोड कित्ता शेयर आगामी चरणमा सर्वसाधारणका लागि खुला गरिनेछ।

यस सर्वसाधारण भागबाट १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ, जुन आजदेखि आवेदनका लागि खुला छ।

स्थानीय प्रभावित तथा वैदेशिक रोजगारिय दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल (Infomerics Nepal) ले कम्पनीलाई IRN BB (Is) रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

सन २०१० जुनमा निजी कम्पनीका रूपमा स्थापना भएको सोलु हाइड्रोपावर लिमिटेड २०२२ जुलाईमा सार्वजनिक कम्पनीमा परिणत भएको थियो। पहिलो चरणमा यसमा भारतको Essel Infraprojects Ltd. को ठूलो लगानी थियो, तर पछि स्वामित्व नेपाली समूहहरूमा हस्तान्तरण भयो।
हाल कम्पनी त्रिवेणी, विशाल, गोयल, राठी, बैद्य, जैन समूहका प्रमुख व्यवसायीहरूले प्रवद्र्धन गरेका छन्।

सोलु हाइड्रोपावरले सोलुखुम्बु जिल्लामा रहेको ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजना सञ्चालन गर्दछ। उक्त आयोजना ४११ वर्ग किलोमिटर जलवितरण क्षेत्र, १९.८५ m³/s डिजाइन डिस्चार्ज (४०% PoE) र ४९३ मिटर ग्रस हेडमा आधारित छ।
२०२४ फेब्रुअरी मध्यसम्मका प्रमुख शेयरधनीहरूमा गोविन्द लाल संघाई (८.१६%), नितेश अग्रवाल (७.०९%), र रामचन्द्र संघाई (४.९३%) रहेका छन्।

Related News