SCB स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ
Author
NEPSE trading

बैंकको पुँजी आधार बलियो, जोखिम न्यून र कोष लागत पनि कम
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं वर्ष उच्चतम क्रेडिट रेटिङ ‘ट्रिपल ए’ (AAA) प्राप्त गरेको छ। इक्रा नेपालले दिएको यो रेटिङले बैंकको वित्तीय स्थायित्व, ऋण तिर्ने क्षमता र सम्पत्तिको गुणस्तर बलियो रहेको प्रमाणित गर्छ।
इक्रा नेपालका अनुसार बैंकको २०२५ को मध्य अप्रिलसम्म जोखिम भारित सम्पत्तिको आधारमा कुल पुँजी अनुपात १७.४४ प्रतिशत छ भने प्राथमिक पुँजी अनुपात १५.१५ प्रतिशत रहेको छ। यो अनुपात नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ११ प्रतिशत र ८.५ प्रतिशतको मापदण्डभन्दा निकै माथि छ।
इक्रा नेपालको रिपोर्टमा भनिएको छ, "बैंकको वित्तीय अनुशासन बलियो छ र आर्थिक अस्थिरता तथा सम्पत्तिको गुणस्तरमा आएको दबाबका बीच पनि यसले स्थायित्व कायम राख्न सफल भएको छ।"
स्ट्याण्डर्ड चार्टर्डको निष्क्रिय कर्जा अनुपात (NPL Ratio) १.४४ प्रतिशत मात्र रहेको छ, जुन अन्य वाणिज्य बैंकहरूको औसत ५.०५ प्रतिशतभन्दा निकै कम हो। यो तथ्यले बैंकको कर्जा वितरण र असुली प्रक्रिया प्रभावकारी रहेको स्पष्ट देखाउँछ।
बैंकको कोष लागत पनि बजारमा सबैभन्दा कम रहेको बताइएको छ, जसले प्रतिस्पर्धी बैंकहरूभन्दा यसलाई सस्तो दरमा कर्जा उपलब्ध गराउने क्षमता दिन्छ।
स्ट्याण्डर्ड चार्टर्ड समूहले बैंकमा ७० प्रतिशत लगानी गरेको छ र सन् १९८७ देखि नेपालमा संचालनमा आएको यो बैंक नियमित रूपमा अन्तर्राष्ट्रिय नियमन र निगरानी प्रक्रियाअनुसार सञ्चालन हुँदै आएको छ।
बैंकको यस्तो निरन्तर प्रगति र बलियो प्रदर्शनले नेपालमा विदेशी लगानीदाताको विश्वास बढाउने संकेत पनि दिएको छ।