·

सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा

Author

NEPSE trading

सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा

काठमाडौं, साउन २६ – गत बिहीबार बढेको नेपालको पुँजी बजार सोमबार पुनः ओरालो लागेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको आडमा केही समय उकालो लागेको बजार पछिल्ला दिनहरूमा लगातार खुम्चिँदै गएको हो।

बजारको गिरावटसँगै लगानीकर्ताको मनोबल कमजोर भएको छ। केही साताअघि नेप्से ३,००० बिन्दुमाथि पुगेपछि ३,२०० बिन्दु पार गर्ने आशामा हौसिएका लगानीकर्ताहरू अहिले घाटामा परेका छन्। माफियाको प्रभाव र उच्च लाभको अपेक्षामा शेयर खरिद गरेका धेरैको लगानी ‘बालुवामा पानी’ जस्तै बगिरहेको छ, जसले लगानीकर्तामा असन्तुष्टि बढाएको छ।

यसैबीच, आर्थिक वर्ष २०८१/८२ का बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण सार्वजनिक भइरहेका छन्। अधिकांश कम्पनीको नाफा वृद्धि र लाभांश क्षमतामा सुधार देखिए पनि यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन। विगतमा अस्वभाविक नाफा देखाएर पछि टाटपल्टिएका कम्पनीहरूको अनुभवका कारण लगानीकर्ताहरूले हालका प्रतिवेदनलाई सहजै विश्वास गर्न सकिरहेका छैनन्।

विश्लेषकहरूको भनाइमा बजारका लागि आवश्यक आधारभूत सूचकहरू सकारात्मक छन्। तर, यस अवस्थामा पनि बजार उकालो लाग्न नसके लामो समयसम्म स्थिर वा सुस्त गतिमा रहन सक्ने सम्भावना छ।

सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक २७.९० अंकले घट्दै २८२२ अंकमा झरेको छ। बजार सुरुवातमा सकारात्मक देखिए पनि ३२ मिनेटमै ओरालो लागेको हो। दिनको उच्च विन्दु २८७५ अंक थियो। सूचकमा गिरावट आए पनि कारोबार रकम बढेर अघिल्लो दिनको ८ अर्ब ५३ करोडको तुलनामा आज १० अर्ब २१ करोड रुपैयाँ पुगेको छ। ३० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको घट्यो।

समूहगत सूचकमा माइक्रोफाइनान्स २.३५ प्रतिशत र विकास बैंक २.३१ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित भए। बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशत घटे। अन्य समूह भने ०.३१ प्रतिशतले बढ्यो।

व्यक्तिगत रूपमा रिभर फल्स पावरको मूल्य १० प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। पन्चकन्या माइ हाइड्रोपावर ६.८७ प्रतिशत र बुद्धभूमि हाइड्रोपावर ३.४७ प्रतिशतले बढे। उन्नति सहकार्य लघुवित्त ७.६४ प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमाउनेमा प¥यो। लिबर्टी इनर्जी, ट्रेड टावर, सीवाईसी लघुवित्त र विन नेपाल लघुवित्त समेत ५ प्रतिशतभन्दा बढीले घटे।

अधिक कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर अग्रपंक्तिमा रहे। आजको बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।

प्रविधिक विश्लेषण
प्रविधिक विश्लेषकहरूले बजार २९५० बिन्दु हुँदा नै बिक्री संकेत (Sell Signal) दिएको र बजार २७८०–२८०० सम्म झर्ने अनुमान गरेका थिए। बजार हाल त्यही दिशामा अघि बढिरहेको छ। केही बढ्ने प्रयास भए पनि सूचकसँगै कारोबार रकमले गति लिन सकेको छैन। घटेको बजारमा कारोबार रकम बढ्नु नकारात्मक संकेत भएको उनीहरूको भनाइ छ। तर, हालको करेक्सन अन्त्यको चरणमा रहेको र आजकै स्तरबाट बजारमा चमक आयो भने २७८०–२८०० को स्तर कुर्नु नपर्ने पनि उनीहरूको दाबी छ।

ब्रोकर विश्लेषण
आजको कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरले खरिद बढी गरेका छन् भने ४ ब्रोकरले बिक्री बढी गरेका छन्। यसलाई केही विश्लेषकहरूले ठूला लगानीकर्ताहरू किन्न अग्रसर भएको संकेत मानेका छन्।

स्टक आधारमा हेर्दा, ग्लोबल आइएमई बैंकको कुल खरिदको करिब ५० प्रतिशत (१ लाख २९ हजार कित्ता) ब्रोकर नं. २८ बाट भएको छ, जसको औसत मूल्य २५७ रुपैयाँ छ। फर्स्ट माइक्रोफाइनान्समा कुल खरिदको ६२ प्रतिशत ब्रोकर नं. ५८ बाट भएको छ, जसको औसत मूल्य ९०३ रुपैयाँ छ। लक्ष्मी सनराइज बैंकमा पनि कुल खरिदको ६२ प्रतिशत (१ लाख १ हजार कित्ता) ब्रोकर नं. ५८ बाट भएको छ, जसको औसत मूल्य २३६ रुपैयाँ छ।

Related News