अंग्रेजी, विज्ञान र गणित विषयमा शिक्षक अभाव हटाउन ‘शिक्षक बैंक’ स्थापना गरिने, स्नातक पासलाई स्वयंसेवक शिक्षक बनाइने
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले अंग्रेजी, विज्ञान र गणित विषयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न ‘शिक्षक बैंक’ स्थापना गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्वविद्यालयहरूसँगको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार, शिक्षण क्षेत्रमा अभाव भएका विषयमा शिक्षण सेवा सहज बनाउन शिक्षक बैंकमार्फत आवश्यक शिक्षक पठाउने व्यवस्था मिलाइनेछ।
साथै, स्नातक उत्तीर्ण गरेका युवाहरुलाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गरिने व्यवस्था बजेटमार्फत गरिने भएको छ।
सरकारको यस कदमले गुणस्तरीय शिक्षा सुनिश्चितता, ग्रामीण क्षेत्रमा शिक्षकको पहुँच विस्तार, र शिक्षित युवाहरूलाई सामाजिक सेवामा संलग्न गराउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।